काठमाडौं । मुस्ताङमा विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइने भएको छ। चालक दलका तीनसहित २२ जना सवार जहाज आइतबार बिहान जोमसोमको लागि पोखराबाट उडेको थियो। दिनभरको प्रयासमा पनि जहाजको अवस्थाबारे पत्ता नलागेपछि सोमबार बिहानैबाट खोजी गर्ने क्रममा मुस्ताङको थासाङ गाउँपालिका-२ को सानोस्वारे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। यार्सा संकलकहरुले दुर्घटनाग्रस्त विमान देखेको बताएपछि नेपाली सेनाको टोली त्यसतर्फ गएका हुन्।
हेलिकप्टरमार्फत गएका नेपाली सेनासहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली घटनास्थल पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। ‘पैदलमार्गबाट गएका करिब १०० को सङ्ख्यामा रहेका सुरक्षाकर्मीको टोली पनि घटनास्थल नजिकै पुगेको उनले बताए। यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान सङ्कलन र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजना बनाइएको छ। त्यसपछि बल्ल काठमाडौं ल्याइनेछ।


























