काठमाडौं । आइतबार बिहान जोमसोमको लागि उडेको ट्वीन अटर दुर्घटनामा परेको अनुमान गरिएको छ। मुस्ताङको घाँसा क्षेत्रमा ठूलो आवाज सुनेको र आगो बलेको देखेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका छन्। तर त्यहाँ अहिलेसम्म प्रहरी वा अन्य कुनै निकाय पुग्न सकेको छैन। प्रहरीका अनुसार यो सूचनालाई पुष्टि गर्ने प्रयास भइरहेको छ। यद्यपि, अहिले हराएको विमानको खोजीलाई त्यसतर्फ केन्द्रित गरिएको प्रहरीले जनाएको छ।
सम्पर्कविहीन भएको जहाज खोज्न दुईवटा निजी हेलिकप्टर परिचालन गरिएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेलले जानकारी दिए। नेपाली सेनाको हेलिकप्टरलाई पनि खोजीको लागि प्रयोग गर्ने तयारी भइरहेको उनले बताए। आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि पोखराबाट उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको हो। ९ एन एइटी ट्विनअटर विमानमा १९ जना यात्रु रहेको बताइएको छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार एकपटक जोमसोम आकाशमा उडेको देखिएको जहाज धौलागिरि हिमालतर्फ फर्किएको र त्यसपछि सम्पर्कमा आएको छैन।


























