चितवन । स्थानीय तह निर्वाचन भरखरै सकिएको छ। विजयी हुनेहरु बधाई खाइरहेका छन् भने पराजित हुनेहरु गुपचुप छन्। यही क्रममा पुराना चलचित्र निर्देशक एवम् सञ्चारविद् प्रकाश सायमीले भने नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अनुत्पादक कार्यक्रममा गएर जनताको महत्त्वपूर्ण समय बर्बाद नगर्न सुझाव दिएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विमोचन, चलचित्रको प्रिमियर शो, सम्मान तथा पुरस्कार वितरणजस्ता कार्यक्रममा गएर समय खेर नफाल्न सुझाव दिएका हुन्।
सायमीले आफ्नो कार्यकक्षमा ‘मलाई प्रमुख अतिथि बनाएर/बोलाएर जनताको अमूल्य समय नष्ट गर्ने अपराध नगर्नुस्’ भनेर आफ्नो कार्यकक्षबाहिर लेख्ने हिम्मत बटुल्नसमेत सुझाव दिएका छन्। अबको पूरै पाँच वर्ष जनपक्षीय काम गर्न उनले सुझाएका हुन्।
निर्देशक एवम् सञ्चारविद् सायमीको सुझाव जस्ताको त्यस्तैः
मेयर होस् वा प्रधानमन्त्री, राष्ट्रपति होस् वा सेनापति।
इच्छा यति मात्र छ, विमोचन, फिल्मको प्रिमियर शो, उदघाटन, सम्मान र पुरस्कार वितरणजस्ता अनुपात्दक कार्यक्रममा गएर राष्ट्रको अमूल्य समय बर्बाद नगर्नुहोस्। सक्नुहुन्छ भने, आफ्नो कार्यकक्ष बाहिर यति लेख्ने हिम्मत गर्नुहोस्; “मलाई प्रमुख अतिथि बनाएर/बोलाएर जनताको अमूल्य समय नष्ट गर्ने अपराध नगर्नुस्।” बाँकी आफ्ना चम्चाहरु पाल्ने, भीड गर्ने, सेल्फी खिच्ने यी र यस्ता कामप्रति मेरो वा मजस्तो नागरिकको कुनै आपत्ति हुने छैन।
जय देश! जय जनता!!
Facebook Comments


























