काठमाडौं । पत्नी हत्या आरोपमा आठ वर्ष कैद सजाय भोगेका सशस्त्र प्रहरी बलका पूर्व डिआइजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने फैसला सर्बोच्च अदालतले उल्ट्याएको छ। दुई वर्षअघि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले आरोपित कोइरालाको कैद मिनाहा गरेको थियो। तर कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले गरेको फैसला उल्ट्याएपछि कोइरालाले करिब साढे ११ वर्ष जेल बस्नुपर्ने हुन सक्ने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए।
पत्नीको हत्या गरी शवसमेत नष्ट गरेको आरोप लागेका तत्कालीन डिआइजी कोइरालालाई जन्मकैद हुने सजाय घटाएर सर्वोच्च अदालतले साढे आठ वर्षमात्रै कैद बस्दा पनि हुने भन्दै फैसला सुनाएपछि उनी कैदमुक्त भएका थिए। प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको इजलासले श्रीमती हत्या गर्ने कोइरालाको काममा ‘आवेश’ देखिएको र उनको घरमा बालबच्चाको संरक्षणको मानवीय पक्ष पनि जोडिएको भन्दै कैद मिनाहाको राय सुनाएको थियो।


























