काठमाडौं । मुलुकमा बलात्कार जस्ता जघन्य अपराधका घटना एक/दुई गर्दै बाहिर सार्वजनिक भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारका घटनामा कानुनमा रहेको हदम्याद हटाउने बताएका छन्। यसअघिसम्म बलात्कार भएको एकवर्षपछि उजुरबाजुर नलाग्ने कानुनी व्यवस्था रहे पनि पछिल्लो समय सार्वजनिक भएका घटना/परिघटनाले उक्त व्यवस्थालाई परिमार्जन गरेर हदम्याद हटाउन दबाब दिइरहेको परिप्रेक्षमा प्रधानमन्त्री देउवाको उक्त घोषणाले पीडितको आत्मबल बढाउनमा केही सहयोग पुगेको छ।
२०७५ साउन १० गते भएको निर्मला पन्तको बलात्कारपछिको हत्या, भागीरथी भट्टको बलात्कारपछि हत्या, पल शाह प्रकरण हुँदै पछिल्लो केही दिनयता देखिएको युवतीको भिडियो सार्वजनिकजस्ता घटनाले जबरजस्ती करणी अपराधमा संलग्नलाई कारवाही गर्नुपर्ने विषयमा हदम्याद राख्दा पीडितले न्याय पाउन नसकेको विषय उठिरहेको छ। अधिकारकर्मीहरुले समेत यस विषयमा कानुन नै संशोधन गर्नुपर्ने आवाज उठाउँदै आएका छन्।


























