काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन-२०७९ मा सोचेजस्तो मत नआउनुमा पार्टीभित्रकै अन्तर्घात मुख्य कारण भएको बताएका छन्। बुधबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष आलीले स्थानीय निर्वाचनको नतिजाबारे आत्मालोचना गर्दै पार्टीभित्रको अन्तर्घातका कारण सोचेअनुसार नतिजा नआएको बताएका हुन्।
निर्वाचनमा पार्टीभित्रै अन्तर्घात भएपछि यसबारे गम्भीर समीक्षा गर्न जरुरी रहेको पनि उनले बताएका छन्। ‘नत्र उपमेयर जित्दा मेयर किन जितिँदैन? यो भनेको अन्तर्घात होइन?’ अध्यक्ष ओलीको भनाइ उदृत गर्दै एक सांसदले भने।
अध्यक्ष ओलीले निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै आगामी निर्वाचनमा थप योजनासहित अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। बिहीबारबाट हुने नीति तथा कार्यक्रममाथिको छलफलमा पनि पार्टीका सांसदहरुलाई तर्कसंगत ढंगले आफ्ना कुरा राख्न र नीति तथा कार्यक्रमको चिरफार गर्न अध्यक्षले निर्देशन दिएका बैठकपछि भट्टराईले जानकारी दिए।


























