चितवन । आफूलाई वैकल्पिक शक्ति भनेर चिनाउँदै आएका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। स्थानीय तह निर्वाचनमा विवेकशील साझाको देशैभर लज्जास्पद हार भएपछि नैतिकताको आधारमा राजीनामा दिएको मिश्रले बताएका छन्। बुधबार विज्ञप्ति जारी गर्दै पार्टीमा साधारण सदस्य मात्रै रहने गरी अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
आफ्नो तर्फबाट तन, मन र धनले भ्याएसम्मको प्रयास गर्दासमेत देशैभरबाट निराशाजनक परिणाम आएपछि नैतिकताको आधारमा पदबाट राजीनामा दिएको उनले बताए। ‘विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेका छन्। त्यो तपाईँहरूकै देन हो,’ विज्ञप्तिमा भनिएको छ, ‘विवेकशील साझाले उठाएका प्रमुख मुद्दाहरू सम्बोधन नगरेसम्म यो देशको रूपान्तरण असम्भव हुनेछ।’ उनले पार्टीभित्र विवाद सिर्जना हुँदा कारवाहीमा परेका मिलन पाण्डेलगायतका नेताहरुलाई कारवाही फुकुवा गर्नसमेत आग्रह गरेका छन्।
‘मैले प्रस्तुत गरेको “विचारभन्दा माथि देश” दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई-तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णयविरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजकलगायत कतिपयलाई कारबाही गरिएको थियो। सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु,’ उनले भनेका छन्, ‘त्यस्तै, सो दस्ताबेजप्रति असहमति राखेर राजीनामा दिनुभएका साथीहरूलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गर्दछु।’


























