चितवन । भरतपुर महानगरपालिकाले पाँच वर्षे कार्यकाल पूरा गरिसकेकी अनुभवि मेयर रेनु दाहाललाई पुनः मेयरमा पाएको छ। पाँच दलीय गठबन्धनको तर्फबाट साझा उमेदवार दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्। उनी २०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा एमालेका देवी ज्ञवालीलाई पराजित गर्दै प्रमुखमा निर्वाचित भएकी दाहालले यसपटक पनि नेकपा एमालेकै उमेदवार विजय सुवेदीलाई पराजित गरेकी हुन्।
वि.स. २०३३ साल असार २६ गते चितवनको भरतपुर महानगरपालिका वडा नं १४ शिवनगरमा जन्मिएकी रेनु दाहाल पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आमा सीता दाहालकी माइली छोरी हुन्। दाहालका श्रीमान अर्जुन पाठक एक छेरी प्रतिभा, एक छोरा प्रबल छन्। विसं २०५२ साल फागुन १ गतेदेखि भएको जनयुद्ध शुरु हुँदा उनी १८ वर्षकी थिइन्। कक्षा १० मा पढ्दापढ्दै भूमिगत राजनीति थालेकी दाहाल २०५३ पछि माओवादीमा पूर्णकालीन बनेकी थिइन्। उनलाई पार्टीमा ‘ज्वाला’ नामले परिचित छिन्।
जनयुद्धकालका लामो समयसम्म भारतमा रहेर काम गरिन्। उनी अखिल–भारत नेपाली महिलाको अध्यक्ष हुँदै २०५६ मा माओवादी जिल्ला समितिको सदस्य रहिन्। नेपाल फर्किएपछि रोल्पाको सह-इन्चार्ज र केही समयपछि उनी काठमाडौंको सह-सचिव भइन्। उनले नेपालमा भन्दा पनि भारतमा धेरै ठाउँमा रहेर लामो समयसम्म काम गरिन्। खुला राजनीतिमा आएपछि उनी पहिलो संविधान सभाको निर्वाचनपछि सविधानसभा सदस्य भइन्। अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा विभिन्न जनवर्गीय संगठनमा रहेर सकृय राजनीतिमा छिन्।
उनी अखिल नेपाल महिला संघ क्रान्तिकारी महासचिव भएर भूमिकामा थिइन्। नेपाली, हिन्दी र अंग्रेजी भाषामा दख्खल राख्ने नवनिर्वाचित मेयर दाहाल राजनीतिक तथा थुप्रै सामाजिक संघसंस्थामा आवद्ध छन्। देशको विकट ग्रामीण क्षेत्रमा संगठनात्मक काममा सक्रिय हुन रुचाउने दाहाल कम बोल्ने र बोलेको कुरा पूरा गर्ने नेतृको रुपमा परिचित छन्। जोसँग उनको भेट हुन्छ उनको साधारण शैली र क्षमतासंग प्रभावित हुन्छ नै। उनले भारत, चीन, बेलायत, थाइल्याण्ड, श्रीलंका, इन्डोनेसियालगायतका देशहरूको भ्रमण गरेकी छन्।
उत्पीडित जाति, क्षेत्र र लिंगलाई अधिकार सम्पन्न बनाउन कुरामा नै सविधानमा सुनिश्चित गराउने उनको मुख्य एजेण्डा छ। परिवारका सबै सदस्य जनयुद्धमा लागेका कारण दाहालले धेरै पढ्न पाइनन्। उच्च शिक्षाका लागि मन हुँदाहुँदै पनि राजनैतिक उतार चढावले पूरा हुन सकेन। गएको पाँच वर्ष भरतपुरको भौतिक र सामाजिक विकासमा महत्त्वपूर्ण काम गरेकी दाहाल २०७९ को स्थानीय निर्वाचनमा एमालेकै विजय सुवेदीलाई भारी मतान्तरले पराजित गरी दोस्रो पटक महानगरको बागडो सम्हाल्न कुर्सीमा पुग्न सफल भएकी छन्।
Facebook Comments


























