चितवन । सर्वत्र चासोको विषय बनेको भरतपुर महानगरपालिकाले आगामी पाँच वर्षको लागि नयाँ नेतृत्व पाएको छ। मेयर पदमा नेकपा माओवादी केन्द्रकी नेतृ रेनु दाहाल पुनः दोहोरिएको छन्। उनले १२ हजारभन्दा बढी मतका साथ नेकपा एमालेका विजय सुवेदीलाई पराजित गराएकी हुन्। तर अन्तिम मतपरिणाम भने निर्वाचन कार्यालयले केही बेरमा सार्वजनिक गर्दैछ।
यस्तै उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले करिब २२ हजार मतान्तरले जित हासिल गरेका छन्। उनले शुरुवाती चरणदेखि नै राप्रपाकी हिमला गुरुङलाई उछिनेका थिए। वडाहरुमा पनि अधिकांश वडामा पाँच दलीय गठबन्धनको पक्षमा नतिजा आएको छ। २९ वटा वडा रहेको भरतपुरमा ११ दिन लगाएर मतगणना सम्पन्न गरेको हो।
गत वैशाख ३० गते मतदान सम्मन्न भएपछि ३१ गते दिउँसोबाट मतगणना शुरु गरिएको थियो। आफ्नो पक्षमा जित भएपछि गठबन्धन दलले आजै भरतपुरका सबै वडा परिक्रमा गर्ने गरी विजयउत्सवसहितको र्याली आयोजना गर्दैछ।



























