चितवन । सबैतिरको मतगणना सकियो। जिल्लाभरको ध्यान अब भरतपुर महानगरप्रतिमात्रै केन्द्रित भएको छ। यहाँसम्म आइपुग्दा पाँच दलीय गठबन्धनसँग चुनाव लड्न राप्रपासँग साँठगाँठ मिलाएको नेकपा एमाले कमजोर सावित भइसकेको छ। किनकि एक लाख दुई हजार ६४५ मत गणना भइसक्दा मेयर पदका लागि माओवादीकी रेनु दाहालले ४० हजार ९०३ मत ल्याइसकेकी छन्। तर नेकपा एमालेका विजय सुवेदीले भने जम्मा ३१ हजार ८२८ मतमात्र पाएका छन्।
स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले भने १३ हजार ८९ मत ल्याएर तेस्रो स्थानमा छन्। रेनुले विजयलाई ९ हजार ७५ मतले पछाडि छाडेकी छन्। मतगणनाको शुरुवाती चरणमा रेनु र विजयबीच अघिपछिको क्रम आलोपालो भए पनि ५ वटा वडाको गणना सकिएदेखि भने रेनुले निरन्तर अग्रता कायम गरिराखेकी छन्। हालसम्मको मतान्तर हेर्दा दाहाल र सुवेदीबीचको मतान्तर झनै फराकिलो बन्दै गएको छ।
जसकारण पाँच दलीय गठबन्धन रेनुको जित सुनिश्चित भनिरहेका छन् भने एमाले जितबाट पछि हटिसकेको छ। अहिले वडा नम्बर २०, २१ र २२ को मतगणना चलिरहेको छ।
Facebook Comments


























