चितवन । भरतपुर महानगरपालिकाको मतगणना जारी छ। ६ वटा वडाको मतगणना सकिएर ७ र ८ नम्बर वडामा मतगणना हुँदै गर्दा गठबन्धन दलकी साझा उमेदवार रेनु दाहालले मतअन्तर फराकिलो बनाउँदै लगेकी छन्। वडा नम्बर ७ मा ३४४५ र वडा नम्बर ८ मा १४०१ मत गन्दै गर्दा रेनु दाहालले २२६७ मतको अग्रता लिइसकेकी छन्। दाहालले ११९६६ मत ल्याउँदा नेकपा एमालेका उमेदवार विजय सुवेदीले बल्ल ९६९९ मत ल्याउन सफल भएका छन्। स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले भने ५२३५ मत ल्याएका छन्। समग्रमा भरतपुर महानगरपालिकामा हालसम्म ३२२९३ मतगणना भइसकेको छ।
मतान्तर बढ्दै जाँदा रेनु दाहालमा जित्छु भन्ने विश्वास अझै बढ्दै गएको छ। उनले गत पाँच वर्षमा आफूले गरेको कामकै मूल्याङ्कनका आधारमा आफूले जनमत पाएको बताउँदै आएकी छन्। त्यसमाथि पनि गठबन्धनको राम्रो साथ पाएपछि जित सुनिश्चित भएको दाबी गर्दै आएकी छन्।
उपमेयरमा भने चित्रसेन अधिकारी लोकप्रिय बनिरहेका छन्। अधिकारीले हालसम्ममा १४१६६ मत पाइसकेका छन्। उनी शुरुदेखि नै अगाडि छन्। मेयर पदको मतभन्दा उनको मत शुरुदेखि नै धेरै आइरहेको छ। उनको प्रतिद्वन्द्वी राप्राकी हिमला गुरुङले भने जम्मा ७८७० पाएकी छन्। उनी नेकपा एमालेसँगको गठबन्धनकी साझा उमेदवार हुन् भने अधिकारी पाँच दलीय गठबन्धनका साझा उमेदवार हुन्।
Facebook Comments