चितवन । भरतपुर महानगरपालिकाको मेयर पदकी उमेदवार रेनु दाहालले हरेक उमेदवारको लागि मूल्यांकन गर्ने क्षमता जनता जनार्दनसँग रहने हुँदा त्यसको परिणाम जनताकै पक्षमा आउने बताएकी छन्। बुधबार भरतपुरस्थित मतगणनास्थलमा पत्रकारहरुलाई प्रतिकृया दिँदै दाहालले गएको पाँच वर्षमा भरतपुर महानगरपालिकाभित्र भएको हरेक कार्यको मूल्यांकन नजिकबाट गरेको अनुभूति भएको बताएकी हुन्। नेकपा एमालेका विजय सुवेदीभन्दा २००० मतअन्तरले अगाडि रहेकी उनी अझ दूरी बढ्ने दाबी गर्छिन्।
भरतपुरको वडा नम्बर ११ र १२ नेकपा एमालेको सबैभन्दा राम्रो मतदाता भएको वडा मानिन्छ। तर रेनु दाहालले भने एमालेको आधार इलाकाबाट पनि आफूलाई राम्रो मत आउनेमा ढुक्क छिन्। अघिल्लो निर्वाचनमा एमालेकै नेता देवी ज्ञवालीसँग निर्वाचनमा होमिएकी दाहाल त्यतिबेला ज्ञवालीभन्दा पछाडि थिइन्। तर यसपटकको निर्वाचनमा विजय सुवेदीभन्दा दुई हजार मतले अगाडि रहेको हुँदा एमालेको क्षेत्रबाट पनि आफूलाई नै मत आउने दाहालले दाबी गरेकी हुन्। आफूलाई गठबन्धनसँगसँगै पाँच वर्षमा गरेको जनपक्षीय कामले पनि मतदाताले साथ दिएका उनको भनाइ छ।
आफूले गरेको कामको मूल्यांकन गरेको हुँदा नेकपा एमालेको मत पनि आफूलाई आएको उनले बताइन्। अहिलेसम्मको मत आँकडाले जनताको नजरमा आफू सफल भएको अनुभव दिलाएको उनले बताइन्। अहिलेसम्म जनताबाट कुनै पिन प्रकारको नकारात्मक टिप्पणी सुन्न नपरेको उनी बताउँछिन्।
२०७४ को निर्वाचनमा आफूसँग भरतपुरको विकासका योजनाबारे धेरै संकल्प भए पनि भरतपुरबारे त्यति जानकार नभएको बताउँदै उनले भनिन्, ‘त्यतिबेला भरतपुरबारे गहिराइमा गएर बुझ्ने मौका पाएकी थिइनँ। तर, अहिले धेरै जानकार भइसकेँ। त्यसैको आधारमा पनि मैले सबै खालको मत प्राप्त गरेकी छु।’ अहिलेसम्म पाएको मतले जनताको भावनाअनुसार अझ राम्रो काम गर्न सक्छु भन्ने उत्प्रेरणा जागेको उनले बताइन्।