चितवन । जिल्लाको माडी र इच्छाकामना गाउँपालिकामा पाँच दलीय गठबन्धनको अगाडि नेकपा एमाले शक्तिशाली देखिएको छ। माडीको नगर प्रमुख र इच्छाकामना गाउँपालिका प्रमुखमा गठबन्धनको अगाडि भारी मतान्तरले नेकपा एमालेका उमेदवार विजय भएपछि एमालेले आफ्नो शक्ति देखाउन सफल भएको हो। पूर्वी चितवन क्षेत्रमा एकछत्र राज गर्दै आएको एमालेले त्यसलाई जोगाउन नसके पनि २०७४ मा माओवादी केन्द्रकाे मेयर रहेको माडी र नेपाली कांग्रेसकी अध्यक्ष रहेको इच्छाकामनामा विपरीत नतिजा ल्याएर आफ्नो पार्टीलाई बलियो सावित गरिदिएको हो।
माडीमा मेयर जिते पनि वडामा भने कमजोर छ। एउटा वडा मात्रै एमालेले जितेको छ। तर इच्छाकामना गाउँपालिकामा भने अधिकांश वडामा पनि एमालेले आफ्नो कब्जा जमाएको छ। भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा भने अहिल्यै भन्न सकिने अवस्था छैन। तर रत्ननगर र खैरहनी नगरपालिकामा भने नेकपा एमालेले आफ्नो शाख गुमाउने पक्कापक्की भइसकेको छ। राप्ती नगरपालिकामा पनि एमालेभन्दा नेकपा एकीकृत समाजवादी अगाडि देखिन्छ।
जबकि २०७४ सालको स्थानीय तह निर्वाचनमा टिकौली पारीको पूर्वी क्षेत्रमा रहेका चारवटै पालिकाको प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको थियो। पाँच दलीय गठबन्धनको असरका कारण चार पालिकाको भविष्य के हुने भन्ने निश्चित नभए पनि एमालेले माडी र इच्छाकामनामा आफ्नो क्षमता देखाउन सफल भएको छ।