चितवन । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तगत मतदान भएपछि कतै सोही राति त कतै भोलिपल्टबाट मतगणना शुरु भयो। भरतपुर महानगरपालिकामा पनि ३१ गते मध्यान्ह १२ बजेदेखि शुरु भएको मतगणना धीमा गतिमा अगाडि बढिरहेको छ। मतगणनाको तेस्रो दिन सकिँदै गर्दा बल्ल पाँच वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर ५ को मतगणना भरखरै सकिएको छ।
हालसम्मको स्थिति हेर्दा जम्मा १७ दशमलव ११ प्रतिशत मतमगणना सम्पन्न भएको छ। यही गतिमा मतगणना भइरहने हो भने भरतपुर महानगरपालिकाको मेयर र उपमेयर पदको अन्तिम नतिजा आउन अझै तीन हप्ता पर्खनुपर्ने देखिन्छ। मतगणना ढिला भएको भन्दै गणनास्थलबाहिर चौतर्फी आलोचना भइरहेको छ।
कुल २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ५६६ मत खसेको थियो। हालसम्म गणना सम्पन्न भएका वडाहरुमा भने वडा नम्बर १, २, ४ र ५ मा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसले जितेको छ भने ३ नम्बरमा नेकपा एमालेले विजय हासिल गरेको छ।
मेयर पदमा भने गठबन्धनकी रेनु दाहाल अगाडि छिन्। उनको पछिपछि एमालेका विजय सुवेदी दौडिरहेका छन् भने स्वतन्त्र उमेदवार जगन्नाथ पौडेल तेस्रो स्थानमा पछ्याउँदै अगाडि बढिरहेका छन्। वडा नम्बर ५ को मतगणना सकिँदै गर्दा रेनु दाहालले विजय सुवेदीलाई ३७३ मतले अग्रता लिइरहेकी छन्। वडा अध्यक्षमा भने नेपाली कांग्रेसले जितेको छ।


























