चितवन । स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकामा दोस्रो वडाको मतगणना जारी छ। पहिलो वडाको मत गन्दा सुरुवाती चरणमा विजय सुवेदी अगाडि देखिए पनि अहिले विजयभन्दा रेनु दाहाल अगाडि देखिएकी छन्। तर आइतबार बिहानसम्मको मतान्तर भने विजयले घटाउन सफल भएका छन्। यो समाचार सामग्री तयार पार्दासम्ममा विजय सुवेदी र रेनु दाहालको मतान्तर जम्मा ७० छ।
प्रतिशतमा हेर्दा कुल खसेको मतमा रेनु दाहालले ३६ प्रतिशत र विजय सुवेदीले ३५ प्रतिशत मत ल्याएका छन्। माओवादीकी रेनु र एमालेका विजयलाई पछ्याउँदै स्वतन्त्रका जगन्नाथ पौडेलले पनि ५३७ मत ल्याएका छन्। जुन कुन गणना गरिएको संख्याको १२ प्रतिशत हो।
विजय सुवेदीले वडा नं. १ मा खसेको कुल मतको ३३ प्रतिशत मात्रै मत पाउँदा रेनु दाहालले ३७% मत पाएकी थिइन्। तर वडा नम्बर २ मा हालसम्म गणना भएको संख्याको ४० प्रतिशन मत सुवेदीले पाएका छन् भने दाहालको मत ३५ प्रतिशतमा झरेको छ। यो संख्याले गर्दा हालसम्मको मततान्तर साँघुरो बन्दै गएको छ।
उता वडा अध्यक्षको मत परिणाम पनि वडा नं. १ भन्दा उल्टो भएको देखिन्छ। वडा नं. १ को कुल मत मध्ये ४३ प्रतिशत (१३९७) मत ल्याएर कांग्रेसका केशव महर्जन अध्यक्षमा निर्वाचित हुँदा एमालेका शुक्रकुमार श्रेष्ठको ४० प्रतिशत मत आएको थियो। तर २ नं. मा कांग्रेसका मनोज रानाभाटले हालसम्म ४४ प्रतिशत मात्रै मत पाएका छन् भने एमालेका कृष्णबहादुर केसीले ४६ प्रतिशतको साथमा अग्रता कायम गरिरहेका छन्। वडा नं. २ मा हालसम्म १४४६ मत गणना भएको छ।
यस वडामा गणनाले अर्को एउटा रोचक तथ्याङ्क पनि देखाएको छ। काँग्रेसका वडा अध्यक्षले ४४ प्रतिशत (५२९) मत ल्याउँदा यहाँबाट कांग्रेसकै उपमेयरलाई भने कम मत खसेको देखिएको छ। यहाँबाट हालसम्म उपमेयर चित्रसेन अधिकारीले जम्मा ३६ प्रतिशत (४३४) मत मात्र पाएका छन्।
यस्तै हालत एमालेको पनि छ। एमालेका वडा अध्यक्षले ४६ प्रतिशत (५४७) मत पाउँदा मेयरका उम्मेदवार विजय सुवेदीले भने ३९ प्रतिशत (४७३) मत मात्र पाएका छन्। एमालेले समर्थन गरेकी राप्रपाकि उममेयर उम्मेदवार हीमला गुरुङ्ले भने ३१ प्रतिशत (३७७) मात्र मत पाएकी छन्। यस वडाबाट काँग्रेसका वागी उम्मेदवारले भने ११४ मत मात्रै पाएका छन् जुन कुल गणनाको १० प्रतिशत मात्रै हो।
समग्रमा विजय र रेनुको अघिपछिको खेल र कसको मत कता ढल्कियो भन्ने विषयले पनि भरतपुरको मतगणना रोमान्चक बनेको छ।


























