विनोद अनुज
चितवन । लक्ष्मी मावि लङ्कू मतदान केन्द्रबाट दुई जना किरियापुत्रीले मतदान गरेका छन्। भरतपुर ४ पिपलचोक निवासी ५८ वर्षीय कृष्णप्रसाद आचार्य र उनकी श्रीमती विष्णुदेवीले मतदान गरेका हुन्। कृष्णप्रसादले ३ बजेर ४५ मिनेटमा छिमेकी त्रिलोचन न्यौपानेमार्फत मतदान गरेका हुन् भने विष्णुदेवीले ४ बजेर ५ मिनेट जाँदा आफैँले मतदान गरेकी हुन्।
९१ वर्षीय आमा सन्तुमाया आचार्यको निधन भएको चौथो दिनमा शुक्रबार उनीहरूले पिपलचोकबाट करिब एक किलोमिटरको दूरीमा रहेको मतदानस्थल आएर मतदान गरेका हुन्। छिमेकी त्रिलोचन न्यौपाने र भुवानीप्रसाद सापकोटाको सहजीकरणमा मतदान गरेका हुन्। कृष्णप्रसादका भाइ लोकराज र दिदी तुलसीदेवी ढुङ्गाना पनि किरियामै छन्। तर, उनीहरू मतदान केद्र भरतपुरको १३ नम्बर वडामा परेकाले मतदान गर्न पाएनन्।
यस्तै उत्तर आनन्दपुरका पाँच जना किरियापुत्रीले पनि मतदान गरेका छन्। ९२ वर्षीया आमा भागिरथी खरेलको किरियामा बसिरहेका छोराहरू दुर्गाराज, नवराज, थानेश्वर, बालकृष्ण र डिल्लीराजले सोही मतदान केन्द्रमा आएर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
लक्ष्मी मावि मतदान केन्द्रबाट मतदान गर्न पाउने मतदाताको संख्या पाँच हजार १६८ छ। मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चलेको थियो। ५ बजेभित्र मतदानस्थलमा प्रवेश गरिसकेका मतदातालाई भने मतदान गर्न दिइएको थियो।
चितवन जिल्लाभर करिब ७० देखि ७५ प्रतिशत मत खसेको अनुमान गरिएको छ।


























