चितवन । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ स्थित अन्नपूर्ण माविबाट मतदान गरेका छन्। तर उनले गोप्य मतदानसम्बन्धि नियमको भने उल्लङ्घन गरेका छन्। निर्वाचन आयोगले मतदान गर्न जाँदा मोवाइल, क्यामेरा, सलाई, लाइटर, कलमलगायतका वस्तु साथमा लैजान निषेध गरेको छ।
तर डा भट्टराईले भने आफूले गरेको मतदानमा कुन चिन्हमा मतदान गरे भन्नेसमेत प्रष्ट देखिने गरी खिचिएको तस्बिर उनी आफैँले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन्। राज्यको सर्वोच्च निकाय सम्हालिसकेका नेता भट्टराईले देशको कानुनको धज्जी उडाउने गरी गोप्य मतदान गर्ने नियमको उल्लङ्घन गरेपछि डा भट्टराई पुनः चर्चामा आएका छन्।

निर्वाचन आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठका अनुसार डा भट्टराईले गोप्य मतदान गर्नुपर्नेमा फोटो सार्वजनिक गर्नु निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पुष्टि भएको छ। गोप्य मतदान हुनुपर्नेमा फोटो नै सार्वजनिक गरिनु आचारसंहिता उल्लङ्घनको विषय हो भएको यनले बताए। ‘यसलाई निर्वाचन आयोगले हेर्छ,’ उनले भने। निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने उल्लेख छ। सार्वजनिक गरेमा निर्वाचन अधिकृतले १५ हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ।

























