चितवन । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका दुई युवाले मतगणनास्थलमा प्रवेश गरेर मतपत्र च्यातेपछि लागेको दागका कारण अहिले पनि चितवन चर्चामै छ। र, त्यसको कारण बनेको छ, रेनु दाहालको दोस्रोपटक मेयर बन्ने चाहना। त्यतिबेला माओवादीले मतपत्र च्यातेरै जितेको भनेर दाबी गरिरहेका नेकपा एमालेले अहिले पनि माओवादीबाट कुनै न कुनै घटना हुन सक्ने आँकलन गरिरहेका छन्।
नेपाली कांग्रेस भने त्यतिबेला र अहिले दुवै निर्वाचनमा रेनु दाहाललाई नै मेयर बनाउन सघाउँदैछ। त्यसैले यस विषयमा खासै बोलेको छैन। तर नेकपा एमालेले भने यसपटक पनि आशंका व्यक्त गरिरहेको छ। बिहीबार भरतपुरस्थित प्रस्तावित मतगणनास्थलको अनुगमन गर्दै नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यसमेत रहेका कृष्णभक्त पोख्रेल, यसपटकको मेयरका उमेदवार विजय सुवेदी, नेता देवी ज्ञवालीलगायतका नेता कार्यकर्ताले मतगणनास्थल सुरक्षित हुनुपर्ने बताए।
अघिल्लो निर्वाचनमा मच्चाएको अमानवीय हर्कतका कारण यसपटक मान्छेलाई पनि पशुलाई जस्तै गरी तारजाली लगाएर मतगणना गर्नुपर्ने स्थिति आएको २०७४ को स्थानीय निर्वाचनमा भरतपुरको मेयरका उमेदवारसमेत रहेका एमालेका नेता ज्ञवालीले बताए। ‘माओवादीले त्यतिबेला देखाएको बाँदरे शैलीका कारण मतपत्र सुरक्षित राख्ने बहानामा मान्छे बस्ने छुट्टै जेल बनाउनुपरेको हो,’ उनले भने।
मुख्य निर्वाचन कार्यालयले भने विगतमा जस्तो घटना हुन नदिन आठवटा सिसी क्यामेरा जडान गर्नुका साथै फलामको तारजालीको बार लगाएको बताएको छ। मुख्य निर्वाचन कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार मतपत्रको सुरक्षाको लागि सक्दो प्रयास गरिरहेको छ। विगतका घटनाले पनि चितवन देशकै मुख्य केन्द्रमा परेको छ।
प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकमा हुने मतगणनाका लागि व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। दलका प्रतिनिधिले मतपत्र च्यात्न नपाऊन् भनेर मतगणना स्थलमा फलामको तारजाली लगाएर दलका प्रतिनिधि बस्ने ठाउँ छुट्टयाइएको छ। प्रतिनिधिले मतगणना गरेको हेर्न मिल्ने गरी फलामको बारमा जाली हालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पौडेलले बताए।

मतगणना हुने ब्लकको उत्तरतर्फको प्यासेजमा मतपत्र ल्याएर राखिने छ। तर दलका प्रतिनिधिले भने मतपत्र राख्ने स्थान शौचालयको आडैमा रहेको हुँदा यसपटक पनि केही न केही कैफियत हुन सक्ने अड्कल काटिसकेका छन्। मतपत्र सुरक्षाको लागि उक्त शौचालय प्रयोग गर्ने या नगर्ने भन्ने विषयमा दलका प्रतिनिधिहरुसँगै सल्लाह गरेर निर्णय गर्न सकिने पौडेलले बताए।
भरतपुर महानगरपालिकामा यसपटकको स्थानीय तह निर्वाचनमा एक लाख ८५ हजार ७५२ मतदाता छन्। अघिल्लो स्थानीय तह निर्वाचनमा मतपत्र च्यातिएपछि १९ नम्बर वडामा पुनः मतदान गरेको थियो।


























