चितवन । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले कांग्रेसभित्रै प्रतिगमनकारी तत्व जन्मिए पनि त्यसले केही फरक नपर्ने दाबी गरेका छन्। पेशाकर्मी बुद्धिजीवी नागरिक अभियानका क्रममा पार्टीको निर्णयबाट पछि हटेर भरतपुरमा मेयरको उमेदवारी दिएका नेता जगन्नाथ पौडेलप्रति लक्षित गर्दै उनले भने, ‘कांग्रेसका लागि सूर्य चिन्हभन्दा भुइँकटहर धेरै टाढा छ। हामीसँग सूर्य जति पछाडि छ, त्योभन्दा तीन गुना पछाडि छ भुइँकटहर।’
नेता पौडेलले केन्द्रीय नेतृत्वको निर्णय नमानेर ठूलो गल्ती गरेको उनको आरोप छ। ‘लामो समयको इतिहासलाई बेचेर वर्तमान युवाहरूलाई भविष्यको खाडलमा हाल्ने प्रतिगमनकारीलाई साथ दिने सहयात्री त्यो प्रतिगमनकारीभन्दा पनि खतरनाक हुन्छ,’ उनले आरोप लगाए।
६ वटा महानगरपालिकामध्ये तीनवटा महानगरपालिकामा कांग्रेसले नेतृत्व पाइरहँदा जम्मा एउटा महानगर माओवादीलाई छोड्दा आत्तिइहाल्नुपर्ने कुनै कारण नभएको उनले बताए। वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनलाई जिताउन पनि उनले आग्रह गरे। ‘हिजो रेडियोमा मात्रै सुन्नुभएको थियो होला, आज तपाईंकै आगनमा आएर लौराले हिर्काउँछ,’ नेकपा एमाले–राप्रपा लक्षित अभिव्यक्ति दिँदै उनले भने, ‘हिजो लोकतन्त्रको विपक्षमा उभिएका प्रतिगमनकारीलाई हामीले हटायौँ, अब तपाईंको मतबाट हटाउनुपर्छ।’
भरतपुर महानगरपालिकाको प्रमुख पदमा पाँच दलीय गठबन्धनबाट माओवादीकी नेतृ रेनु दाहाललाई उमेदवारी बनाएको छ भने राप्रपा एमालेबाट नेकपा एमालेका नेता विजय सुवेदी मेयरका उमेदवार बनेका छन्।


























