राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले पुलचोकदेखि गोलाघाट, गोलाघाटदेखि राप्तीको किनारैकिनार सौराहा हुँदै लोथरसम्मको चारलेन सडक निर्माण गर्ने योजना रहेको बताएका छन् । नारायणगढमा भइरहेको एमाले–राप्रपाको चुनावी सभामा सम्बोधन गर्दै नेता पाण्डेले चितवनको समग्र विकासको लागि दीगो सोच राखेर काम गर्ने योजना बनाएको बताएका हुन् ।
नेकपा एमालेसँगको सहकार्यले अस्थिरतालाई हटाउने उनले बताए। दुई दलको सहकार्यले भरतपुर र माडीको बिग्रिएको परिस्थितिलाई सुधार्नेसमेत उनले दाबी गरे। ‘अहिलेकै कार्यकालमा भरतपुर र माडीलाई नेपालकै सुन्दर महानगर र नगर बनाउँछौँ,’ उनले भने।
भरतपुर र माडी सम्भावनै सम्भावना भएको स्थानीय तह भएकोले काम गर्ने वातावरणको सिर्जना गर्नुपर्ने उनको भनाइ छ। भरतपुर महानगरपालिकालाई नेकपा माओवादीले पार्टी कार्यालय बनाएको समेत उनले आरोप लगाए। ‘यो महानगरपालिका हो कि पार्टी कार्यालय हो ? जनताले बुझ्न सकेका छैनन्,’ उनले भने, ‘महानगर भनेको जनताको शितल चौतारी हो। जनताको लागि एउटा आशाको केन्द्रविन्दु हो।’
भरतपुरको विकास भए समग्र चितवनकै विकास हुने बताउँदै पूर्वमन्त्री पाण्डेले उद्योग सञ्चालनको लागि युवालाई तालिम दिएर स्वरोजगारको व्यवस्था गराउनुपर्ने उनको भनाइ छ।
राप्रपा र एमालेको बीचमा विचार, नीति र सिद्धान्त फरक भए पनि राष्ट्र निर्माणमा एकै ठाउँमा उभिएको उनले बताए।
“गोलाघाटदेखि राप्ती किनार हुँदै लोथरसम्म चार लेनको बाटो बनाउँछु” – विक्रम पाण्डे
Facebook Comments


























