चितवन । स्थानीय तह निर्वाचनको लागि चितवनमा चार लाख ३४ हजार मतपत्र आइपुगेको छ। मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीका अनुसार जिल्लाको सातवटै पालिकाका लागि ती मतपत्र शुक्रबार चितवन आइपुगेको हो। चितवनमा कूल तीन लाख ९७ हजार ६८५ मतदाता छन्। तर मतपत्र भने ९.१३ प्रतिशत बढी आएको उनले बताए।
‘एउटा बण्डलमा ५०० मतपत्र छन्,’ उनले भने, ‘निर्वाचन आयोगले चितवनका मतदाताको संख्या भन्दा ९.१३ प्रतिशत अर्थात ३६ हजार ३१५ बढी मतपत्र पठाएको छ।’ भरतपुरको लागि ४१० बण्डल र भरतपुरबाहेक छ पालिकाको लागि ४५८ बण्डल मतपत्र आएको उनले बताए। आयोगले आफ्नो नीतिअनुसार नै मतदाताको संख्याभन्दा केही बढी मतपत्र पठाएको हो।
प्याकिङ भएर आएको मतपत्रको बण्डलभित्र प्रिन्ट बिग्रिएका र च्यातिएका मतपत्र पनि पर्ने भएकाले आयोगले करिब १० प्रतिशतबढी मतपत्र पठाउने गर्छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार भरतपुर महानगरपालिकाको लागि दुई लाख पाँच हजार मतपत्र आएको छ, जहाँ एक लाख ८५ हजार ७५२ मतदाता छन्। बाँकी छ वटा पालिकाको लागि दुई लाख २९ हजार मतपत्र आइपुगेको छ, जहाँ जम्मा दुई लाख ११ हजार ९३३ मतदाता छन्।
३६ प्रकारका चुनाव चिन्ह
भरतपुरको लागि बनाइएको मतपत्रमा दल र स्वतन्त्र गरी ३६ प्रकारका चुनाव चिह्न रहेका जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ। तर उमेदवार भने ३५ प्रकारका चुनाव चिह्न पाएका मात्रै रहेकाले ३६औँ नम्बरमा रहेको चुनाव चिन्हको उमेदवार छैनन्। सबै मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ। २७ वैशाखमा सम्बन्धित मतदान केन्द्रका मतपत्र पठाइनेछ।


























