चितवन । कोरोना भाइरसको जोखिम सिर्जना भएयता मत्थर भएको चितवनको साहित्य र रंगमञ्चले पुनः स्थान लिन थालेको छ। यहाँ विभिन्न साहित्यिक गतिविधि हुन थालेका छन्। साहित्यका हरेक पाटो पहिलेकै अवस्थामा चलायमान हुने प्रयासमा छन्। सोही क्रममा कोरोना भाइरस संक्रमणको जोखिम मत्थर भएपछि चितवनमा पहिलोपटक साहित्यका विभिन्न आयाम एउटै मञ्चमा देखिने भएको छ।
काठमाडौंको शिल्पी नाट्य समूह र हाम्रो अभियान वीरगन्ज–१५ ले संयुक्तरुपमा नारायणी कला मन्दिरमा साहित्यका विभिन्न आयाम पस्कने जमर्को गरेको हो। कला मन्दिरकै प्रेक्षालयमा हुने ती कार्यक्रमको स्थानीय संयोजन भने कर्मी चौतारी र नारायणी कला मन्दिरले गरेको छ।
कार्यक्रममा नाटक, चित्रकला, कविता वाचन तथा अन्तर्क्रियात्मक छलफलबाट समाजबारे कुरा गर्ने प्रयास गरिने आयोजकले जनाएको छ। शिल्पी नाट्य समूहको नाटक, स्थानीय कविहरुका कविता, स्थानीय कलाकारहरुका चित्रकला कार्यशाला र प्रतिस्थापन कलाका साथै तन्नेरी चासो र हाम्रो अभियानको सिर्जनात्मक प्रस्तुति रहने रंगकर्मी एवम् स्थानीय संयोजन संस्था कर्मी चौतारीका अञ्जान प्रदीपले जानकारी दिए।
यो कार्यक्रमबाट कला क्षेत्रमा आबद्ध सबैलाई नजिक बनाउने अपेक्षा लिइएको उनले बताए। कला र संवादको माध्यमबाट लोकतन्त्रलाई बलियो बनाउने प्रयास गरिएको उनको भनाइ छ। ‘अलिकति उज्यालो’ अभियानअन्तर्गत विराटनगर र वीरगन्जपछि चितवनमा कार्यक्रम गर्न लागेको हो। शनिबार नारायणी नदी किनारमा मञ्चन हुने नाटक सोमबार बिहान गैँडाकोटमा र साँझ नारायणी कला मन्दिरमा हुनेछ।
देशका मुख्य चार शहरमा प्रदर्शन गरिएको यही कार्यक्रम रुपन्देहीको बुटवल पुगेर सकिनेछ। स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा निर्वाचनलाई समेत केही टेवा पुगोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको उनले बताए ।


























