चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २४ का सुकुम्बासीहरूले स्थायी बसोबासको व्यवस्था गरिदिन माग गरेका छन्। स्थनीय तह निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचारप्रसारका लागि घरदैलोमा पुगेका पाँच दलीय गठबन्धनबाट मेयर पदका उमेदवार रेनु दाहाल र उपमेयर पदका उमेदवार चित्रसेन अधिकारीलाई उचित गास, बास र कपासको व्यवस्था मिलाइदिन माग गरेका हुन्।
वर्षौँदेखि भोगचलन गर्दै आए पनि अहिलेसम्म जग्गाधनी पुर्जा नपाएको भन्दै स्थानीय मन्दिरा परियारले भनिन्, ‘हामी कहिलेसम्म सुकुमबासी बनिरहने?’ हुकुमबासीहरूले हरेक चुनावमा सुकुमबासीको भोट खानबाहेक केही नजानेको भन्दै आक्रोससमेत पोखिन्।
सुकुमबासी आयोगको नाममा भएको नापचाँजपछि पुर्जा पाउने आसमा रहेका उनीहरू सत्ताको लुछाचुँडीका कारण पुर्जा पाउनबाट वञ्चित भएका हुन्। भरतपुर महानगरपालिका गठन भएको पाँच वर्षसम्म पनि मेयर, उपमेयरको स्वार्थका कारण आफूहरू सुकुमबासीबाट माथि उठ्न नसकेको स्थानीय परियारको भनाइ छ।
‘स्थानीय र संघीय सरकार आएपछि हाम्रो कुराको सुनुवाइ होला भन्ने ठानेका थियौँ। तर, अहिलेसम्म सुनुवाइ भएन, बरू सुकुमबासीकै दैलोमा फेरि भोट माग्न आउनुभयो,’ उनले भनिन्, ‘अब त भोट माग्नेहरूलाई पनि लाज लाग्नुपर्ने हो।’
जग्गाधनी पुर्जा पाउने आश देखाएर फेरि भोट माग्न आएको अर्की स्थानीय मनु बाह्रघरे मगर बताउँछिन्। ‘यो पाँच वर्षसम्ममा हाम्रो कुनै पनि माग सुनुवाइ भएन,’ उनले भनिन्, ‘भोट खान सजिलो हुन्छ भनेर आँपटारीतिर जग्गाधनी पुर्जा पनि बाँडे रे। त्यही आस देखाएर फेरि भोट माग्न आए स्वार्थी नेताहरू।’
भोट माग्न सुकुमबासी बस्ती पुगेकी भरतपुर महानगरपालिकाका प्रमुख पदकी उमेदवार रेनु दाहालले स्थानीय तहको निर्वाचन सकिएलगत्तै पुर्जा वितरणको प्रकृया सुरू गर्ने आश्वासन दिइन्। उनले सरकार फेरबदलको समस्याले सुकुमबासी समस्या समाधान लम्बिएको बहाना सुनाइन्।


























