चितवन १३ वैशाख । एमाले-राप्रपा गठबन्धनका मेयर तथा उपमेयरका उमेदवारले घरदैलो शुरु गरेका छन्। सोमबार उमेदवारी दर्ता गरेपछि मंगलबारबाट भरतपुर महानगरपालिकाको मेयरका उमेदवार विजय सुवेदी तथा उप-मेयरका उमेदवार हिमला गुरुङले घरदैलो अभियान शुरु गरेका हुन्।
पहिलो दिन भरतपुर महानगरपालिकाको २ वटा वडामा घरदैलो अभियान सञ्चालन गरेका छन्। भरतपुर महानगरपालिका–२८ को मेघौली क्षेत्रबाट शुरु भएको अभियान गोलाघाट, जीतपुरलगायतका स्थानसम्म जारी रह्यो। जीतपुरमा दुवै पार्टीबाट संयुक्तरुपमा कोणसभासमेत गरेका छन्।
मेयरका उमेदवार सुवेदीले गोलाघाट, जीतपुर क्षेत्रलाई दोस्रो सौराहको रुपमा विकास गर्न चाहेको आश्वासन दिए। पश्चिम चितवनको प्राकृतिक सम्पदाहरुलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक रहेको उनले बताए। यस क्षेत्रलाई विकास गर्न आफूसँग प्रशस्तै दुरदर्शी योजना भएको भन्दै आगामी स्थानीय निर्वाचनमा निर्वाचित गराउन आम मतदातालाई उनले आग्रह गरे।
यस्तै उप-मेयरका उमेदवार गुरुङले विगतमा राप्रपाले सो क्षेत्रमा गरेको विकासबारे स्मरण गराइन्। राप्रपाले बोलेर भन्दा पनि काम गरेर देखाउने गरेको उदाहरणसमेत प्रस्तुत गरिन्। लामोसमयदेखि राजनीतिमा सक्रिय रहेकै आधारमा पार्टीले आफूलाई उमेदवार बनाएकोले एक पटक मतदान गरी जिताइदिनसमेत उनले आग्रह गरिन्।
भरतपुरमा राप्रपासँग चुनावी तालमेल गरेको एमालेले राप्रपालाई उप-मेयरसहित दुई वटा वडामा सहयोग गर्ने भएको छ। कुल एक लाख ८५ हजार ७५२ मतदाता रहेको महानगरमा बाँकी २७ वटा वडामा एमालेले आफ्ना उमेदवार उठाएको छ।


























