काठमाडौं १३ वैशाख । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन–२०७९ का लागि छपाइ भएका मतपत्र मंगलबारदेखि जिल्ला जिल्लामा पठाउन थालेको छ। भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट लोड भई मंगलबार कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका तीन गरी १३ जिल्लामा मतपत्र पठाइएको छ।
वैशाख १४ गते काठमाडौँबाट लामो दूरीमा पर्ने पूर्व र पश्चिमका गरी नौ जिल्लामा मतपत्र पठाइनेछ। वैशाख १२ गतेसम्म एक करोड ५४ लाख ८३ हजार (८० प्रतिशत) मतपत्र छपाइको कार्य सम्पन्न भइसकेको छ। निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ। मंगलबार नै निर्वाचन सामग्री पुग्न बाँकी डोल्पाको दुनै र हुम्लाको सिमीकोटमा नेपाली सेनाको हेलिकोप्टरबाट सामग्री पठाइएको छ।
केही स्थानबाट मनोनयनको विवरण आउन बाँकी निर्वाचन कार्यक्रमअन्तर्गत यही वैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा अधिकांश स्थानबाट दर्ताको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट भइरहेको छ भने केही स्थानबाट विवरण आउन बाँकी रहेको छ। मधेस प्रदेशका तीन जिल्ला, लुम्बिनी प्रदेशको एक र कर्णाली प्रदेशको दुई जिल्लाका केही पालिकाको विवरण आउन बाँकी रहेकामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको लमही नगरपालिकाको विवरण प्रविष्ट भएको छ।
मंगलबार रातिसम्ममा बाराको कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, सुवर्णमाई गाउँपालिका, महोत्तरीको औराही र मटिहानी, सिरहाको सुखीपुर, धनगढीमाई, लहान र कर्जनाह र कालीकोटको पलाता गाउँपालिकाबाको विवरण प्रविष्ट भइसक्नेछ। -रासस
#स्थानीय तह निर्वाचन-२०७९


























