चितवन २९ चैत । वन विज्ञान संकाय र प्राकृतिक स्रोत व्यवस्थापन कलेज, पाख्रिबास चितवनको रामपुरमा जारी ‘प्रथम उपकुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७८’ को फाईनलमा प्रवेश गरेका छन्। मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा प्राकृतिक स्रोत व्यवस्थापन कलेज, कटारीलाई ३–० को गोल अन्तरले हराउँदै वन विज्ञान संकाय फाइनलमा प्रवेश गरेको हो।
खेलको पहिलो हाफमै वन संकायले ३ गोलको अग्रता लिएको थियो। वन संकायका लागि सिजन विष्टले २५औं मिनेटमा पहिलो गोल गरे। कृष्ण बुढामगर र कैलेश तामाङले थप गोल गरे।
दोस्रो सेमिफाइनल खेलबाट प्राकृतिक स्रोत व्यवस्थापन कलेज, टिकापुरलाई ट्राइवेकरमा पछि पार्दै प्राकृतिक स्रोत व्यवस्थापन कलेज, पाख्रिवास फाइनल पुग्न सफल भएको हो। पहिलो हाफको २२औं मिनेटमा पाख्रिबासका संगम क्षेत्रीले गोल गरे। पहिलो हाफको ३७औं मिनेटमा टिकापुराका सिजन शर्माले गोल गर्दै खेल बराबरीमा ल्याए।
दोस्रो हाफको २ मिनेटमा टिकापुरका सिजन शर्माले नै दोस्रो गोल गरेर टिकापुरलाई अग्रता दिलाएका थिए। खेलको इन्जुरी टाइममा पाख्रिबासका दिवस निरौलाले गोल गर्दा खेल ट्राइवेकरमा पुगेको थियो। पहिलो सेमिफाइनल खेलमा कटारी कलेजका सुसन थापा र दोस्रो खेलमा पाख्रिबास कलेजका राजकुमार पाख्रिन म्यान अफ दि म्याच भए।
तेस्रो स्थानका लागि बुधबार बिहान टिकापुर कलेज र कटारी कलेजबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेलमा वन विज्ञान संकाय र पाख्रिबास कलेजबीच बुधबार दिउँसो प्रतिस्पर्धा हुने प्रथम उपकुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजक समितिका संयोजक कृष्णप्रसाद थपलियाले जानकारी दिए।
विद्यार्थी कल्याण निर्देशनालय, कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनमा जारी प्रतियोगितामा विश्वविद्यालयको तीन संकाय, आंगिक कलेज, नीजि कलेज गरी १६ वटा टिम सहभागी थिए।
प्रतियोगिताका विजयी टीमले ५० हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। द्वितीयले २५ हजार, तेस्रोले १५ हजार र चोथौले १० हजार पुरस्कार पाउनेछन्। म्यान अफ दि टुर्नामेट र सर्वाधिक गोलकर्ताले १० हजार तथा म्यान अफ दि म्याच हुनेले २ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समितिका संयोजक थपलियाले बताए।


























