फागुन २७ । नेपाली कथानक चलचित्र ‘प्रकाश’को फर्स्टलुक सार्वजनिक गरिएको छ।
चलचित्र ‘प्रसाद’को निर्देशन गरी चर्चा बटुलेका निर्देशक दिनेश राउतले यस पटक भने सोसल ड्रामामा पाइला चालेका छन्। उनले लभर ब्योईको भूमिकामा देखिइरहने अभिनेता प्रदीप खड्कालाई भिन्न रूपमा प्रस्तुत गर्दैछन्।
प्रदीपकै जन्मोत्सवको दिन पारेर निर्देशक राउतले फर्स्टलुक सार्वजनिक गरेका छन्। फर्स्टलुकमा प्रदीप पूर्णरूपमा गाउँले लुक्समा देखिएका छन्। उनको साथमा छिन्- दीया मास्के।
निर्देशक राउतले फिल्मको कथा अनुरूप प्रदीप सुहाउँदो रहेको छोटो प्रतिक्रिया दिए।
‘फिल्मको फर्स्टलुक सार्वजनिक गरेका छौं। बाँकी आउने कन्टेनले बताउने छ’, दिनेशले भने।
प्रदीप यसप्रकारको गेटअपमा पहिलो पटक देखिएका हुन्। पोस्टरमा दीयाले ऊनको पछ्यौरीले टाउको ढाकेकी छन् भने घाँटीमा मंगलसुत्र र नाकमा बुलाकी लगाएकी छन्।
फिल्मले निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कुलको शिक्षक बन्न गर्ने संघर्षको कथा वाचन गरेको छ।
महेन्द्र अधिकारीले निर्माण गरेको फिल्ममा प्रदीप र दीयासँगै रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारहरूको अभिनय रहेको छ।
विकास सुवेदीको कथा रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ। १० भदौ २०७९ लाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले फर्स्टलुक पनि सार्वजनिक गरेको हो।


























