फागुन १६ । भाडाका सैनिक परिचालन गरी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या गर्ने रुसी षड्यन्त्र पर्दाफास भएको छ।
रुस सरकारले जेलेन्स्कीको हत्या गर्न वाग्नर ग्रुप नामक निजी सैनिक कम्पनीका मर्सिनरी लडाकु परिचालन गरेको बेलायतको द टाइम्स पत्रिकाले जनाएको छ।
ग्रुपका ४ सय लडाकु अहिले जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्रका लागि किभ परिचालन भएको द टाइम्सले जनाएको छ। उक्त पत्रिकाका अनुसार ती लडाकु पाँच साताअघि अफ्रिकी देशहरुबाट युक्रेन पुगेका थिए।
जेलेन्स्कीको हत्या गरी युक्रेनको सरकार ढलेको अवस्थामा यस समूहलाई ठूलो रकम दिन रुस सरकारले बाचा गरेको जनाइएको छ।
यसबारे युक्रेन सरकारलाई शनिबारमात्रै थाहा भएको बुझिएको छ। राजधानी किभमा कफ्र्यु लागेको बेला फेला परेका रुसी जासुस र सादा पोसाकमा रहेका रुसी लडाकुलाई केरकार गर्दा नयाँ षड्यन्त्र पर्दाफास भएको हो। एएफपी


























