मकवानपुर, फागुन १५ । साहित्य सङ्गम मकवानपुरले विभिन्न विधाका ८ जना साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगमले यस बर्ष ८ जना साहित्यकारलाई विभिन्न सम्मान र पुरस्कार प्रदान गरेको हो।
शनिबार ५ साहित्यिक श्रष्टालाई विभिन्न साहित्य सम्मानबाट मम्मानीत गरेको संगमले २ जनालाई साहित्य पुरस्कारबाट सम्मानित गरेको छ। संगमले आफ्नो ३ सय १६ औं साहित्य सन्ध्यामा उक्त सम्मान तथा पुरस्कार प्रदान गरेको हो।
यस वर्षको मकवानपुर साहित्य श्री सम्मानबाट मकवानपुरे युवा साहित्यकार सुवास खनाल सम्मानित भएका छन्। संगमले स्थापना गरेको उक्त सम्मान १५ हजार ५ सय ५५ रुपैयाँ राशीको रहेको छ। यसैगरी सङ्गमले यसवर्ष भेषनाथ अधिकारी स्मृति सम्मानबाट चितवनका साहित्यकार मनोज भण्डारी सम्मानित भएका छन्। साहित्यकार विशाल अधिकारी (आशुतोष) ले बुबाको नाममा स्थापना गरेको यो पुरस्कारको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेका छ।
हाल अमेरिका निवासी मकवानपुरका दीपक मुडभरीले मातापिताको नाममा स्थापना गरेको १० हजार राशीको सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य सम्मानबाट मकवानपुरका साहित्यकार दीपक गौतम सम्मानित भएका छन्। यस्तै, शिक्षासेवी देवप्रसाद श्रेष्ठले आमाको नाममा स्थापना गरेको ७ हजार ७ सय ७७ रुपैयाँ राशीको मङ्गलादेवी श्रेष्ठ स्मृति नारी साहित्य सम्मानबाट साहित्यकार रुकु कार्की सम्मानित भएको संगम अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन्।
यस्तै साहित्यसेवी मुक्तगोविन्द वैद्यले यसवर्षबाट स्थापना गरेको १० हजार रुपैयाँ राशीको मुक्क्ति–तारा साहित्य सम्मानबाट समिक्षक घनश्याम घिमिरे सम्मानित भएका छन्। यो सम्मान पुरस्कार साहित्यका विभिन्न विधामा योगदान पुर्याएका तथा क्रियाशिल साहित्यकारलाई प्रदान गरिने गरि स्थापना गरिएको न्यौपानेले बताइन्।
यसैगरी हास्यव्याङ्ग्यकार आरसी रिजालले माताको नाममा स्थापना गरेको अणकुमारी स्मृति साहित्य पुरस्कार बालजागृति इङ्लिस बोर्डिङ स्कुलका सुविज्ञा सुवेदीलाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशी ५ हजार रुपौयाँ रहेको छ। यो पुरस्कार ९–१२ कक्षामा अध्ययनरत छात्रालाई प्रदान गरिदै आएको छ।
न्यौपानेका अनुसार शेषजङ्ग स्मृति कथा पुरस्कार हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत् उषाकिरण अधिकारीलाई प्रदान गरिएको छ। शिक्षासेवी डेडिजङ्ग शाहले छोराको स्मृतिमा स्थापना गरेको यो पुरस्कारको राशी ५ हजार रुपैयाँ रहेको छ। यो पुरस्कार ९–१२ कक्षामा अध्ययनरत् विद्यार्थी बीच कथा प्रतियोगिता गराई १ जनालाई प्रदान गरिदै आएको छ।
साहित्यकार तुल्सी थापाको विशिष्ट आथित्यता तथा संगम अध्यक्ष न्यौपानेको सभाध्यक्षतामा भएको ३ सय १६ औ साहित्य सन्ध्या तथा सम्मान कार्यक्रममा सम्मानित र पुरस्कृत व्यक्तित्यहरुले मन्तव्य सहित साहित्यिक रचना वाचन गरेका थिए। कार्यक्रममा सम्मान तथा पुरस्कार संस्थापक सहित साहित्यकारहरु शम्भु बास्कोटा, मिन प्रसाद लामिछाने, देवराज तिवारी, राजकुमार लामिछाने, ह्याग्रिव आचार्य, शान्ति प्रीयवन्दना, पुरुषोत्तम आचार्य, राम अविकास, सुनिल गौतम, चिरञ्जिवी लामिछाने, विश्वनाथ सन्जेल, भावना सापकोटा, भवानी तिमल्सिना,गंगा सापकोटा लगायतको उपस्थिति रहेको थियो।


























