ठेकेदारलाई समयमै काम सकाउन दबाब दिने भन्दै भरतपुर महानगरपालिका वडा नं. ४ का स्थानीयले लङ्कू–कचपचे चोकको बाटो छेकेका छन्। लामो समयसम्म पनि काम नगरी अलपत्र पारेको भन्दै स्थानीयले बुधबारदेखि बाटो छेकेका हुन्।
त्यसअघि स्थानीय बासिन्दा भरतपुर महानगरपालिकामा डेलिगेशन गएका थिए। मेयर रेनु दाहालबाट केन्द्रीय सरकारको बजेटमा भएको काममा स्थानीय सरकारको अधिकार नहुने भन्दै जिम्मेवारीबाट पन्छिएपछि स्थानीयले बाटो नै छेकेका हुन्।

नारायणगढको शहीदचोकदेखि लङ्कू हुँदै कचपचे चोकसम्मको जम्मा तीन हजार १०० मिटर बाटो निर्माणको लागि रमन/ शिवशक्ति जेभी हेटौँडाले २०७७ सालको असार मसान्तभित्रै काम सकाउने भनेर ठेक्का पारेको थियो। तर, कोरोना भाइरस र कामदार नपाएको बहाना बनाउँदै २०७८ को फागुन लागिसक्दा पनि काम पूरा नगरेको स्थानीय प्रा.डा. केशवभक्त सापकोटाले बताए।
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवनले भने म्याद थप गरेर यही वर्ष चैत मसान्तसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने बताएको छ। केन्द्रीय सरकारले नै सबै क्षेत्रको आयोजनामा म्याद थप गरिदिएपछि विभागको प्याकेज नं. २ मा रहेको यो बाटो निर्माणको म्याद पनि थपिएको विभागका इञ्जिनियर कमलमणि खतिवडाले जानकारी दिए। तर, ठेकेदारको कामप्रति कार्यालय स्वयम् पनि सन्तुष्ट नरहेको उनले बताए।

‘ठेकेदारले लापरबाही गरेको कुरा त सबैसामु छर्लङ्ग छ। त्यसैले हामीले कार्यालयबाट गर्नुपर्ने ताकेता निरन्तर गरिरहेका छौँ,’ उनले भने, ‘अब चैत मसान्तसम्ममा पनि निर्माण कार्य सम्पन्न नगरे कारवाही गर्नुको विकल्प छैन।’ स्थानीयबाट दैनिक प्रश्न आइरहने हुँदा उत्तर दिँदा दिँदा हैरान भइसकेको उनले बताए। स्थानीयले दु:ख पाएको कुरामा उनले चिन्ता पनि व्यक्त गरे।
स्थानीयले भने बाटो निर्माणको लागि वडा कार्यालयमा तालाबन्दी गराउनेदेखि महानगरमा डेलिगेशन जाने र बाटो छेक्नेसम्मको आन्दोलन गर्दै आएका छन्। तैपनि काम नहुँदा चौबीसै घण्टा धुलो खाएर बस्नुपरेको स्थानीय प्रा.डा. सापकोटा बताउँछन्। ‘बाटो निर्माण सम्पन्न गराउन विभिन्न खालका दबाबमुलक कार्यक्रम गर्दा पनि उपाय नलागेपछि यो बाटो बन्द गर्नुको विकल्प देखेनौँ,’ उनले भने।

ठेकेदारलाई तत्काल बोलाएर कामलाई गति दिन भवन निर्माण विभागसँग स्थानीयले मागसमेत गरेका छन्। कुल १२ मिटरको चौडाईमा निर्माणाधीन उक्त सडकको शहीदचोकदेखि लङ्कु पुलभन्दा केही अगाडिसम्म पिच भएको छ । तर, त्यसपछि रामपुर जाने सडकको कचपचे चोकसम्म भने अलपत्र पारेर छाडिएको छ।

तीन हजार १०० मिटर लामो बाटोको लागि २०७५ को असार २६ गतेदेखि काम थाल्ने भन्दै ठेकेदार कम्पनीले कुल ६८ करोड २३ लाख १५ हजार ८२४ रूपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो। दुई वर्षमा काम सकाउनुपर्ने सम्झौता भए पनि हालसम्म ६५ प्रतिशतमात्रै कार्यप्रगति देखिएको इञ्जिनियर खतिवडाले बताए।
काम ढिलो हुनुको पछाडी स्थानीयको अबरोधले पनि भूमिका खेलेको इञ्जिनियर खतिवडाको आरोप छ। नाला बनाउने विषयलाई लिएर स्थानीयले केहीपटक अबरोध गरेको उनले बताए। “सोहि कारण यो काम कम्तिमा ६ महिना ढिला भएको हो। तर खास कारण चाहिँ निर्माण कम्पनीको लापरबाही नै हो।”, उनले भने। धर्मचोक बजार व्यवस्थापन समितिका अध्यक्ष भोजनारायण कंडेल भने विकास निर्माणको काममा सबैले एकअर्कालाई सहयोग गर्नुपर्ने भन्छन्। एकअर्कालाई आरोप लगाएर जिम्मेवारीबाट पन्छिन नहुने उनको भनाई छ। बाटो बनाउने विषयलाई लिएर स्थानीयदेखि जनप्रतिनिधीसम्मले विशेष चासो राखेको प्रति सह्राहना गर्दै उनी निर्माण कम्पनीले नै समयमा काम नगरेका कारण बाटो अलपत्र परेको बताउँछन्।


























