माघ २९। रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आशंका तीब्र हुँदै गइरहेको पश्चिमी खुफिया अधिकारीहरुले बताएका छन्। यही बीचमा अमेरिका युक्रेनको राजधानी किभमा रहेको आफ्नो दूतावास खाली गर्ने तयारीमा छन्। समाचार एजेन्सी एपीका अनुसार अमेरिकाको विदेश मन्त्रालयले रुसी आक्रमणको बढ्दो आशंकाका बीच शनिबार किभस्थित आफ्नो दूतावासका सबै अधिकारीहरुलाई बोलाउने घोषणा गर्न सक्ने अमेरिकी अधिकारीहरुले बताएका छन्।
यसअघि अमेरिकी विदेश मन्त्रालयले किभस्थित आफ्नो दूतावासका कर्मचारीका परिवारलाई युक्रेन छोड्न भनिसकेको छ। अमेरिकाले आफ्ना गैर जरुरी कमीृहरुलाई युक्रेनमा बस्ने वा नबस्ने निर्णय आफैं गर्न भनेको छ। पहिचान नखुलाउने शर्तमा अमेरिकी अधिकारीले बताएअनुसार सीमित संख्यामा अमेरिकी कूटनीतिज्ञहरुलाई युक्रेनको सुदूर पश्चिमी क्षेत्रमा बस्नको लािग पठाउन सकिन्छ।
यो क्षेत्र पोल्याण्डसँग जोडिएको छ। पोल्याण्ड नेटोको सदस्य हो। अमेरिकाले युक्रेनमा आफ्नो कूटनैतिक उपस्थिति कायमै रहोस् भन्नका लागि अमेरिकाले यस्तो गर्न सक्छ। यही बीच अमेरिकी रक्षा मन्त्रालयले शुक्रबार आफ्ना तीन हजार अतिरिक्त सैनिकलाई पोल्याण्ड पठाउने घोषणा गरेको छ। पोल्याण्डमा पहिल्यै १७ सय अमेरिकी सैनिक छन्।


























