रत्ननगर २८ माघ । चितवनको रत्ननगर नगरपालिका वडा नं ७ लाई बालमैत्री तथा बालश्रममुक्त वडा घोषणा गरिएको छ। बालमैत्री स्थानीय सासन कार्यान्वयन निर्देशिका–२०७८ अनुरूप ५१ वटा सूचक पूरा गरी सो वडालाई शुक्रबार बालमैत्री वडा घोषणा गरिएको हो। बालमैत्री घोषणा हुने सो वडा नगरपालिकाभित्रको सातौँ वडा हो। यस अघि वडा नं ३, ५, १०, १४, १५ र १६ लाई बालमैत्री वडा घोषणा गरिसकिएको छ।
१६ वटा वडामध्ये बाँकी रहेका ९ वटा वडालाई बालमैत्री तथा बालश्रममुक्त घोषणा गरी चैत महिनाभित्र समग्र नगरलाई नै बालमैत्री नगर घोषणा गर्ने तयारीमा लागेको मेयर नारायण वनले बताए। वडालाई बालमैत्री तथा बालश्रम मुक्त घोषणा गर्नुपूर्व बालश्रम मुक्त, बाल विवाह, बहुविवाह, पूर्ण खोप, जन्मदर्तालगायतका ५१ वटा सूचक पूरा गरिएको छ।
सौराहामा आयोजित घोषणा कार्यक्रममा बागमती प्रदेशका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले बालमैत्री वडा घोषणा गरेका हुन्। कार्यक्रममा मन्त्री श्रेष्ठले मेयर वन र वडाध्यक्ष लालबहादुर भट्टलाई वडा बालमैत्री भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए। घोषणा कार्यक्रममा वडा भित्रका बाल क्लबलाई खेलकुदका सामग्रीसमेत हस्तारण गरिएको छ।
बालमैत्री वडा घोषणा गर्नु पूर्ण वडाभित्र रहेका बालश्रमिकको उद्दार गरी उनीहरूलाई शिक्षा, अभिभावकको आयआर्जनको लागि सीपमुलक तालिम तथा सामग्री सहयोग, पूर्ण खोप, जन्मदर्तालगायतका काम गरिएको वडाध्यक्ष भट्टले बताए। बालमैत्री वडा कार्यान्यवनको लागि सो वडाले पञ्चवर्षीय रणनीतिक कार्ययोजना बनाएको छ।
कार्ययोजनामा वडाभित्र विकास निर्माणका काम गर्दा बालमैत्री बनाउने, बालबालिकाको विकासको लागि प्रयाप्त बजेट विनियोजन गर्ने, बालश्रम भए नभएको विषयमा निरन्तर अनुगमन गर्नेलगायतको विषय समावेश गरिएको वडाध्यक्ष भट्टले बताए। कार्यक्रममा वडाभित्रको परिचयसहित बालबालिकाको स्थितिपत्र पुस्तकको विमोचनसमेत गरिएको थियो।
कार्यक्रममा मेयर वनले बालमैत्री नगर घोषणा गर्नुपूर्व वडा नं ८ मा बालबालिकालक्षित वाटर किङडमको प्रक्रिया सुरू भइसकेको बताए। दुई महिनाभित्र कुनै पनि हालतमा नगरलाई बालमैत्री घोषणा गर्ने वटमलाइन रहेको भन्दै उनले बाँकी रहेका वडाहरूलाई एकमुष्ट घोषणा गरी नगरलाई बालमैत्री घोषणा गरिने बताए।
उपमेयर विमला दुवाडीले अन्य नगरबाट अवलोकन गर्न आउने गरी रत्ननगरलाई नमुना बालमैत्री नगर बनाउने बताइन्। मन्त्री श्रेष्ठले विकास निर्माणको आलवा बालबालिकाको वृद्धि विकास, उनीहरूको अधिकार सुनिश्चितताले मात्र समग्र विकासले सार्थकता पाउने बताए। सामाजिक रूपान्तरणको एउटा महत्त्वपूर्ण अंग बालबालिका रहेको भन्दै उनले बालबालिका माग र उनीहरूको समस्या सामधान गर्न प्रदेश सरकार तयार रहेको बताए।
बालमैत्री पूर्वाधार निर्माण गर्न सके नेपाल अन्तर्राष्टिय मोडलको बन्ने उनको भनाइ छ। कार्यक्रममा उद्घाटन हुनुपूर्व सौराहामा सचेतनामुलक शोभायात्रासमेत निकालिएको थियो ।


























