काठमाडौँ, माघ १७ । नेपाल बार एशोसिएशनले नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानून समेतका आधारमा सबै तहका निर्वाचन समयमै गर्न सरकारसँग अपिल गरेको छ।
बारका महासचिव लीलामणि पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा समयमै सबै स्थानीय तहको निर्वाचन गरी लोकतन्त्रको रक्षा र सम्बद्र्धन गर्ने कार्यमा लाग्न सरकार तथा सम्बन्धित सबैसँग अपिल गरिएको छ।
कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन विज्ञप्तिमा भनिएको छ। कुनैपनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानुन विपरीत मात्र नभइ लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जाने बारको ठहर छ।
‘नेपालको संविधानले स्थानीय तह, प्रदेश संसद् र सङ्घीय संसद्, राष्ट्रियसभा लगायतका निकायको आवधिक निर्वाचनको व्यवस्था गरेको छ, त्यस्ता निकायको शून्यताको परिकल्पना संविधान र निर्वाचनसम्बन्धी कानूनले गरेका छैनन्’, विज्ञप्तिमा उल्लेख गरिएको छ।


























