काठमाडौं, माघ १५ । प्रधानमन्त्री शेरबहादुर देउवा तीन तहको चुनाव एकैसाथ गर्ने पक्षमा देखिएका छन्। उनले स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव एकैसाथ गर्ने पक्षमा आफूलाई उभ्याएका हुन्।
देउवानिकट काँग्रेस केन्द्रीय सदस्य एनपी साउदले तीन तहको चुनाव एकैपटक गर्ने पक्षमा प्रधानमन्त्री रहेको खुलाएका हुन्। देउवाले गठबन्धनको आजको बैठकमा पनि निर्वाचन सम्बन्धी ऐन संशोधनभन्दा पनि समयमै चुनाव गर्ने प्रस्ताव गरेका छन्।
देउवाले जेठ, कात्तिक या मंसिरमा तीन तहको चुनाव एकैपटक गर्ने विकल्पबारे छलफल बढाएको बुझिएको छ। उनले कानून व्यवसायीहरुसँग पनि यसबारे परामर्श थालिसकेका छन्।
गठबन्धनमा रहेका दलका नेताहरु प्रचण्ड र माधवकुमार नेपाल पहिले प्रतिनिधि सभा या एकसाथ तीन तहको चुनावको पक्षमा छन्। उनीहरु चुनाव धकेल्न खोजिरहेका छन्। प्रचण्डले चुनाव पहिले गर्ने हो भने प्रतिनिधिसभाको गर्नुपर्ने प्रस्ताव समेत गरिसकेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने पहिले स्थानीय निकायको निर्वाचन गर्नुपर्ने पक्षमा छ। दलहरुबाट आएका भिन्न मतलाई दृष्टिगत गरी देउवाले मध्यमार्गी बाटो निकाल्दै प्रस्ताव ल्याउने बुझिएको छ। उनले मंसिरमा हुनुपर्ने प्रतिनिधि सभा र प्रदेशको चुनावलाई केही अगाडि सारेर तीन तहको चुनावलाई एकसाथ गर्न प्रस्ताव गर्ने तयारी रहेको निकट स्रोतले बताएको छ। जेठ या मंसिरमा तीन तहको चुनाव गर्नेबारे पनि छलफल गर्न खोजेका छन्।
देउवालाई आफ्नै दलभित्र संविधान अनुसार समयमै चुनावको मिति तोक्न दबाब बढिरहेको छ।


























