नारायणगढ ३० पुस । गोरखाको अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकाको सिमानामा पर्ने दरौँदी खोलाबाट ६ मेगावाटको विद्युत उत्पादन गरेर केन्द्रीय प्रसारण लाइनमा जोड्न सफल कालिका पावर कम्पनीले गोरखामै थप १८ मेगावाटको विद्युत उत्पादन गर्न निर्माण प्रकृया अगाडि बढाएको छ। बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकामै पर्ने दरौँदी खोलामा दुईवटा परियोजना एकसाथ सञ्चालन गर्ने तयारी भइरहेको कम्पनीका सञ्चालक समिति अध्यक्ष बिक्रम पाण्डेले जानकारी दिए।
उनका अनुसार दरौँदी खोलामा ८.२ र ९.८ मेगावाटको विद्युत उत्पादन गर्नेगरी काम गर्न लागेको हो। उक्त परियोजना सम्पन्न गर्न तीनदेखि साढे तीन अर्बसम्म लगानी लाग्न सक्ने कम्पनीले अनुमान गरेको छ। दुवै परियोजनाको निर्माण कार्य सँगसँगै थालिने र सँगसँगै सकाउने योजना रहेको उनले बताए।
कम्पनीले हाल काम गर्न लागेकै खोलामा चनौटे भन्ने स्थानमा २०७३ सालबाट करिब एक अर्ब ३८ करोडको लागतमा पहिलोपटक विद्युत उत्पादन थालेको थियो। अब दरौँदीकै दुईवटा परियोजना सम्पन्न गरेपछि कम्पनीले दरौँदीमा मात्रै तीनवटा परियोजना सम्पन्न गर्नेछन्।
६० करोडको १५ प्रतिशत बोनस
वि.सं. २०६४ मा स्थापना भई वि.सं.२०७२ सालबाट पब्लिक कम्पनीमा परिणत भएको कम्पनीले यसैवर्ष सेयर सदस्यहरूलाई कुल पुँजीको १५ प्रतिशत बोनससमेत वितरण गर्न सफल भएको कम्पनीका पूर्व सञ्चालक पदमबहादुर गुरूङले जानकारी दिए। ‘हाम्रो कुल पुँजी ६० करोडको १५ प्रतिशतका दरले करिब ९ करोड बोनस वितरण गरिसकेका छौँ,’ उनले भने, ‘अबदेखि कम्तिमा पनि हरेक वर्ष १५ प्रतिशत बोनस बाँड्ने कम्पनीको लक्ष्य छ।’
संस्थापक सेयर ४२ लाख, उद्योग प्रभावित क्षेत्रको सेयर ६ लाख र सर्वसाधारण तथा कर्मचारी सेयर १२ लाख गरी कुल ६० लाख कित्ता रहेको कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा ८.५२ प्रतिशेयर आम्दानी गर्न सफल भएको कम्पनीका सचिव किशोरकुमार डंगोलले जानकारी दिए। आम्दानी बढ्नै आर्थिक वर्ष २०७७/७८ मा भने १३.४३ प्रतिशतमा आइपुगेको उनको भनाइ छ।
मलामी विश्रामस्थल निर्माण
दरौँदी हाइड्रो पावरको पहिलो परियोजना सम्पन्न गरेकै स्थानमा कालिका पावर कम्पनीले मलामी विश्रामघाटसमेत निर्माण गर्न लागेको कम्पनीका पूर्व सञ्चालक समिति सदस्य गुरूङले जानकारी दिए। ‘कम्पनीले झ्याल्लाफाँटमा झ्याल्लाखोला र दरौँदी मिसिएको दोभान क्षेत्रमा मलामीको लागि विश्रामघाट निर्माण गर्ने योजना बनाएको छ,’ उनले भने, ‘करिब १० लाख रूपैयाँ खर्च लाग्ने हामीले अनुमान गरेका छौँ।’
झ्याल्लाफाँट कम्पनीले निर्माण सम्पन्न गरेको दरौँदी हाइड्रोको प्रभावित क्षेत्र ढोडेनीदेखि चनौटेसम्मको दूरीमा बीचभागमा पर्छ। साथै सोही स्थानमा एम्बुलेन्स खरिदका लागिसमेत सहयोग गरिएको उनले बताए।

सञ्चालक समिति छनौट
शुक्रबार सम्पन्न चौधौँ वार्षिक साधारण सभाले कालिका पावर कम्पनीका चार जना सञ्चालक समिति छनौट गरेको छ। सञ्चालक समितिमा बिक्रम पाण्डे, पार्वती पाण्डे, युवबहादुर क्षेत्री र ठाकुरप्रसाद ढकाललाई निविरोध निर्वाचित भएका हुन्। यसपटकको साधारण सभाबाट सञ्चालक समितिको सदस्यमा निकोलस पाण्डे बाहिरिएका छन् भने उनको स्थानमा ढकाललाई चयन गरिएको निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरूले जानकारी दिए।
कुल आठ जना सञ्चालक समिति रहेको कम्पनीमा सस्थापक शेयर धनीतर्फका सञ्चालक समितिमात्रै चयन भएका हुन्। स्वतन्त्र सञ्चालक र सर्वसाधारण शेयरधनीतर्फका सञ्चालक सदस्यको कार्यकाल बाँकी रहेकाले संस्थापक शेयरधनीतर्फका सञ्चालक समिति सदस्यमात्रै छनौट गरिएको निर्वाचन अधिकृत पनेरूले जानकारी दिए।


























