चितवन २८ पुस । कोरोना भाइरस संक्रमण जोखिमका बीच पनि चितवन उद्योग वाणिज्य संघले चितवन महोत्सवको १३औँ संस्करण सञ्चालन गर्यो। वातावरण सहज बन्दै गएपछि प्रशासनबाटै अनुमति लिएर यही पुस २५ गते बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको उपस्थितिमा महोत्सवको उद्घाटन भयो। तर दस दिनसम्म चल्नुपर्ने महोत्सव चार दिन चलेर बन्द गर्नुपर्ने स्थिति सिर्जना भयो।

माघ ५ गते समापन हुने महोत्सव बुधबार नै समापन भयो। पूरा समय चल्न नपाएपछि स्टल सञ्चालकसँग लिएको भाडाको ५० प्रतिशत रकम फिर्ता गर्ने उद्योग वाणिज्य संघले निर्णय गर्यो। तर जति दिन चल्यो महोत्सवमा अवलोकन गर्नेहरुको भीडभाड राम्रै देखिन्थ्यो।

हरेक महोत्सवमा मञ्च तताउन भने नाचगान नै सबैभन्दा मुख्य विषय हो। बुधबार पनि चितवन महोत्सवको मञ्चमा विभिन्न खालका नाचगान भए। तर महोत्सवको नाचगान भने आदिवासी जनजाति समुदायले धानेको छ।

गुरुङ, मगर, तामाङ, थारु, कुमाल, दराई, बोटे, चेपाङलगायत चितवनका आदिवासी जनजाति समुदायको जातीय पहिरनसहितको नाचगान नै चितवन महोत्सवको शान हो। त्यसो त चितवन महोत्सवले सुरुदेखि नै मौलिक नेपाली गीत संगीतलाई मात्रै स्थान दिइँदै आएको संघका अध्यक्ष तथा चितवन महोत्सव २०७८ का संयोजक राजु श्रेष्ठ बताउँछन्।

आदिवासी जनजाति समुदायको मौलिक नाचगानले पनि महोत्सवको गरिमा बढाएको उनको भनाइ छ। नारायणी कला मन्दिरसँगको सहकार्यमा गर्दै आएको सांस्कृतिक कार्यक्रममा अधिकांश नाचगान यस्तै मौलिक हुन्छन्। बुधबार पनि सोही कार्यले निरन्तरता पाएको हो।

तस्बिरहरु : रमेश रानामगर र नेत्र गुरुङ


























