गोरखा २६ पुस । नेपाल आँखा अस्पताल, अजिरकोट गाँउपालिका, मुटु फाउन्डेसन र मनोज एसोसिएसन फ्रान्सको सहयोगमा भच्चेक बजारमा अजिरकोट आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ। सोमबार गाउँपालिकाका अध्यक्ष फणिन्द्रप्रसाद धिताल र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका पूर्व कार्यकारी, नेपाली सेनाका भूपू जनरल तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका बोर्ड उपाध्यक्ष दमनबहादुर घलेद्वारा संयुक्तरूपमा विधिवत उद्घाटन गरिएको हो।
जनताको घर दैलोमा आखाँको प्राथमिक उपचार तथा सहुलियत दरमा स्तरीय आँखा जाँच र उपचार गराउने उद्देश्यले अजिरकोट गाउँपालिकासहित लमजुङको दूधपोखरी गाउँपालिका क्षेत्रलक्षित आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको मुटु फाउण्डेशन नेपालका अध्यक्ष धनबहादुर गुरूङले जानकारी दिए। यस उपचार केन्द्रबाट आँखा सम्बन्धी सबै रोगको प्राथमिक परीक्षण गरिने, मोतियाविन्दुको परीक्षण तथा आँखारोग विशेषज्ञद्वारा शल्यक्रिया, चस्माको पावर जाँच तथा आवश्यक चस्मा उपलब्ध गर्ने गरी सेवा सञ्चालन भएको उनले बताए।

पाँच वर्षभन्दा कम उमेरका बालबालिका र ७० वर्षभन्दा माथिका वृृद्धवृद्धालाई बहिरंग सेवा निःशुल्क गरिनुका साथै भिजन सेन्टरबाट रिफर भएका बिरामीलाई विशेष छूटमा उपचार गराउने लक्ष्य लिइएको उनको भनाइ छ। यस उपचार केन्द्रमा आँखा जाँचपछि थप उपचार आवश्यक परेमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर पठाउने अध्यक्ष गुरूङले बताए। मुटु फाउण्डेशनले अजिरकोटसहित देशका विभिन्न स्थानमा सामाजिक विकासका काम गर्दै आएको छ।
कार्यक्रममा अजिरकोट गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तयाराज गुरूङ, वडा नं. ४ का वडाअध्यक्ष जंगबहादुर गुरूङ, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडी, भच्चेक स्वास्थ्य चौकी प्रमुख ठाकुरप्रसाद भट्ट चतुरमाला माविका प्रधानाध्यापक कालिका अधिकारी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज अचार्यलगायतको उपस्थिति थियो।


























