काठमाडौं २० पुस । विवेकशील साझा पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’को रुपमा मनाउनुपर्ने बताएका छन्। पार्टीका प्रवक्ता शरदराज पाठकले मंगलबार विज्ञप्ति जारी गर्दै नेपालमा निश्चित राष्ट्रिय दिवस नभएकोले यसैलाई नेपाल दिवस नाम दिएर राष्ट्रिय दिवस मनाउनु सबैभन्दा उपयुक्त हुने बताएका हुन्।
साथै राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिन पनि माग गरेका छन्।
राज्यको महत्त्वपूर्ण दिवसका दिन बिदा कटौती गरेर अनावश्यक दिवसका नाममा बिदा दिइनु खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ। पृथ्वीनारायण शाहको तस्बिरलाई नेपाली रुपैयाँमा अंकित गराउन पनि सरकारसँग माग गरिएको छ। सबै सरकारी कार्यालयमा राष्ट्र निर्माताको तस्बिर राखेर सम्मान दिन पार्टीले माग गरेको छ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर विवेकशील साझाले पुस २७ गतेदेखि ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ सुरु गर्न लागेको समेत जानकारी गराएको छ। माघ १६ गते सहिद दिवसका दिन अन्त्य हुनेछ उक्त यात्रामा जहाँ, जसरी सम्भव हुन्छ, सहयोग र सहभागिताका लागि पनि अपिल गरिएको विज्ञप्तिमा उल्लेख छ।
प्रेस विज्ञप्ति:
राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाऊँ
अर्को साता नेपाल राज्यका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस आउँदै छ। सो सन्दर्भ पारेर विवेकशील साझा पार्टी नेपाल सरकारसँग निम्न मागहरू गर्दछ:
१) पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस (Nepal Day)’ का रूपमा मनाइयोस्। संसारका अधिकांश देशहरूमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गर्दछ, जुन स्थायी हुन्छ। नेपालका हकमा हाम्रो निश्चित राष्ट्रिय दिवस छैन। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’ का लागि सबैभन्दा उपयुक्त दिन हुनसक्छ भन्ने हाम्रो धारणा हो।
२) संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित हुँदैनन् र छैनन्। तर तिनै विवादलाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त हुँदैन। उनको दूरदर्शिता र दिव्य उपदेश शान्त, स्वाभिमानपूर्ण, सार्वभौमसत्ता सम्पन्न र संवृद्ध नेपाल निर्माणका लागि आज पनि उत्तिकै सान्दर्भिक छ।
३) राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिइयोस् भनी हामीले विगतमा गरेको मागलाई पुनः दोहोर्याउँछौ। अनावश्यक रूपमा अनेकौँ बिदाहरू दिएर राष्ट्रिय एकता दिवसमा दिइने सार्वजनिक बिदा कटौती गर्नु अत्यन्तै खेदजनक विषय हो।
४) त्यसै गरी, नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गरियोस् र हरेक सरकारी कार्यालयमा ससम्मान उनको तस्बिर राख्न निर्देशन दिइयोस् भन्ने माग पनि दोहोर्याउन चाहन्छौँ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर विवेकशील साझा पार्टीले पौष २७ गतेदेखि ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ सुरु गर्दैछ। उक्त यात्रा माघ १६ गते शहीद दिवसका दिन अन्त्य हुनेछ। उक्त यात्रामा जहाँ, जसरी सम्भव हुन्छ, सहयोग र सहभागिताका लागि सम्पूर्ण नेपालीहरूमा विवेकशील साझा पार्टी हार्दिक अपिल गर्दछ।
शरदराज पाठक
प्रवक्ता
विवेकशील साझा पार्टी
Facebook Comments


























