काठमाडौं १६ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेस तनहुँको आज आयोजित पदस्थापन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले कांग्रेसमा गुटबन्दी मौलाउँदै गएकाले यसको अन्त्य हुनुपर्ने बताएका हुन्। देशैभर गुटले प्रश्रय पाएको बताउँदै वरिष्ठ नेता पौडेलले गुट अन्त्य गर्न सके मात्र पार्टी बलियो हुने धारणा राखे।
१४औँ महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत नभएपछि आफू उम्मेदवार नबनेको बताउँदै पौडेलले तटस्थ भूमिकामा बसेको बताए। वरिष्ठ नेता पौडेलले बीपीको बिचार र सिद्धान्तलाई अनुसरण गर्नुपर्नेमा जोड दिए। कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीलाई एकढिक्का बनाउन आवश्यक रहेको बताउँदै विगतका कमीकमजोरी सच्याएर अगाडि बढ्नुपर्ने बताए।
केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताए। सो अवसरमा कांग्रेसको १४औँ महाधिवेशनका क्रममा जिल्ला अधिवेशनबाट निर्वाचित सभापति जीतप्रकाश आलेलाई निवर्तमान सभापति बैकुण्ठ न्यौपानेले पद हस्तान्तरण गरेका हुन्।


























