चितवन, पुस १४ । जलवायु परिवर्तनले आदिवासी जनजाति समुदायमा पारेको प्रभावबारे ३ दिने कार्यक्रम बुधबारदेखि पोखरामा सुरु भएको छ। नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमले आयोजना गरेको आदिवासी जनजाति समुदायका विभिन्न संघसंस्थामा आवद्ध तथा विभिन्न सञ्चारगृहमा कार्यरत तथा संचारकर्मीसहित ३२ जना सहभागी छन्।
पोखराको होटल ल्यानडमार्कमा सञ्चालन भइरहेको तालिममा जलवायु परिवर्तनले आदिवासी जनजाति समुदायमा परेको प्रभाव, असर, न्यूनीकरण र राज्यले हेर्ने दृष्टिकोणलगायत विषयमा गहन प्रशिक्षण हुनेछन्। आदिवासी जनजाति समुदायले जलवायु परिवर्तनसँगै पछिल्लो समय भोग्न बाध्य भएका विभिन्न समस्याबारे जानकारी र समाधानका उपायबारे जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको जलवायु परिवर्तन साझेदारी कार्यक्रमका राष्ट्रिय संयोजक टुंगा राइले जानकारी दिए।
यस्तै कार्यक्रममा सहभागीहरुलाई जैविक विविधता, जलवायु परिवर्तन र मरुभूमिकरणका बारेमा जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सहजकर्ता धनमान गुरुङ, युगान मानन्धर, यलम्बर राईलगायतले सहजीकरण गरिरहेका छन्। कार्यक्रम पुष १६ गते सकिने छ।



























