काठमाडौँ, पुस १२ । माधव कुमार नेपालसहित १४ सांसदविरूद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायरको मुद्दाको आज पेसी चढेको छ।
नेपालसहित १४ सांसदलाई पदमुक्त नगरी नयाँ दल दर्ता गरेको भन्दै ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको मुद्दा आज पेसी चढेको हो। तर सो मुद्दाको सुनवाइ हुने नहुने टुंगो भने लागेको छैन।
न्यायाधीश तेजवहादुर केसी र टंकबहादुर मोक्तानको इजलासमा परेको यो मुद्दा मध्य भागतिर रहेकाले आजै सुनवाइ हुने नहुने निदो छैन।
यो मुद्दामा न्यायाधीश दीपक कार्की र कुमार चुँडालको इजलासले दशैंअघि गरेको सुनुवाइमा अन्तरिम आदेश नदिइ सक्कल कागज माग्ने र विपक्षीबाट लिखित जवाफ मगाउने आदेश दिएको थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको लगायत अनुशासनको विषय उठाएर साउन २७ गते नेपालसहित १४ सांसदलाई निष्कासन गरेर एमालेले सो पत्र निर्वाचन आयोग र संसद सचिवालयमा पठाएको थियो।
तर सभामुखले समयमै त्यसमा निर्णय नदिँदा एमाले फुटेको थियो। सोही प्रकरण देखाएर एमालेले संसद् पनि अवरोध गर्दै आएको छ।


























