सस्तो र सहज उपलब्धका कारण प्लास्टिकको प्रयोग दैनिकरूपमा बढ्दै गएको छ। तर, प्लास्टिकको उपयोग नै प्रदूषणको प्रमुख कारण बनेको छ। यसको प्रयोगसँगै जथाभावी फाल्ने, जलाउने, उचित विसर्जन नगर्दा स्वास्थ्य र पर्यावरणमा यसको असर देखिएको छ। गाँउघर तथा सहर बजार कुरूप बन्दै गएका छन्। जमिनमा रहेका प्लास्टिक वर्षौं वर्ष नकुहिने हुँदा जमिनको उर्वरा शक्ति नै घट्दै गएको छ। प्लास्टिककै कारण बोटबिरूवाको जरासम्म पौष्टिक तत्व जान नसक्दा उत्पादनमा कमि आउन सक्छ। त्यसैले सकभर प्लास्टिकको प्रयोग सकभर कम गर्दा राम्रो हुने देखिन्छ।
तर, प्रयोग गरिसकेको प्लास्टिकको पनि सही सदुपयोग गर्न सके यसबाट धेरै फाइदा लिन सकिन्छ। ‘फोहोरबाटै मोहोर’ उत्पन्न गर्न सकिने नारा व्यवहारमा लागू नहुँदा यो नाराले सार्थकता पाउन भने सकेको छैन, तैपनि यसलाई सार्थकता दिलाउन स्थानीय सरकार तथा केही संघसंस्थाहरूले प्रयास पनि जारी राखेका छन्।
यही क्रममा भरतपुर महानगरपालिकाको संयोजनमा महानगरपालिका विभिन्न वडाहरूसँगको समन्वयन र नेपाल विकास समाजको आयोजनामा फोहोर न्यूनीकरण तथा व्यवस्थापनका लागि हस्तशिल्प तालिम सञ्चालन गरेका छ, जसबाट प्लास्टिकजन्य फोहोरको उचित व्यवस्थापन होस् भन्ने लक्ष्य लिइएको छ।

तालिममा सहभागीहरूले खेर जाने प्लास्टिकजन्य फोहोरबाट डोरम्याट, ब्याग, ढकिया, किचेन, गमला, ह्यांगरलगायतका सामाग्री बनाउन सिकेका छन्। तालिमबाट झोला बुन्न, चकटी बनाउन सिक्न पाउँदा तालिममा सहभागी क्षेत्रपुर निवासी लक्ष्मी लामिछानेले खुसी छिन्। राम्रोसंग आँखा नदेखे पनि चस्मा लगाएर बिस्तार–बिस्तार बुन्न सिकेकी उनी ‘यो काम जोकसैले सिके पनि हुने रहेछ,’ भन्छिन्। काम सिक्न पाए आफ्नो घरको काम सकेर आर्थिक उपार्जनको बाटो पनि समात्न सकिने अनुभव उनले बटुलेकी छिन्।
सोही तालिममा सहभागी रीता ढकालले भने घरबाट निस्कने प्लास्टिकजन्य फोहोर फोहोर नभई मोहोर भएको बुझेकी छन्। ‘हामीले फोहोर भन्दै आएको वस्तु नै आम्दानीको स्रोत बन्न सक्ने रहेछ,’ उनी भन्छिन्, ‘आफ्नै घरमा प्रयोग भइसकेका प्लास्टिकजन्य फोहोरलाई पनि जम्मा गरेर समयको सदुपयोग गर्न सकियो।’

चिसोको समयमा घाम तापेर बस्नेबाहेक काम नहुने व्यक्तिलाई पनि सीप सिकेपछि समयको सदुपयोगसँगै आफूलाई व्यस्त बनाउन सकिने उनले बताइन्। तालिमबारे उत्सुकता जागेर सहभागी भएकी थिइन् उनी। तर तालिमपछि उनले थाहा पाइन् ‘यसलाई व्यापारको रूपमा पनि सञ्चालन गर्न सकिने रहेछ।’ ‘पहिले डस्विनमा राख्यौँ, जलाउने गर्यौँ, अब त प्लास्टिकलाई यसरी नै प्रयोग गर्छु,’ उनले प्रण गरिन्।
भरतपुर–१, रामनगर निवासी रोशनी मल्लले पनि यही तालिमबाट चकटी, पुतली, माछा, किरिङजस्ता सामान बनाउन सिकिन्। शुरुशुरुमा उनलाई के हो, के हो जस्तो लागेको थियो। सिक्दै गएपछि भने चासो बढ्दै गयो। ‘चाख लाग्दै गएपछि त राति एक बजेसम्म पनि बुनेर बस्ने भएँ,’ उनी भन्छिन्, ‘बनाइसकेपछि आफैँले बनाएको आफैँलाई राम्रो लाग्यो।’ आफूले जानेको काम अबदेखि उनी आफ्नै समुहका दिदी–बहिनीलाई पनि सिकाउन चाहन्छिन्।

उमेरले चाहनालाई छेक्न सक्दैन। त्यसैले होला, यो तालिममा ६२ वर्षीया धनमाया थापामगर पनि सीप सिक्ने चाहना बोकेर सहभागी छिन्। बजारमा यस्तो सामान देखेकै भरमा अड्कल गरेर त्यस्तै बनाउने प्रयास गर्दै आएकी उनले पनि तालिम लिएपछि थप जान्ने भइन्। कुरूस खेलाएर जाली पछ्यौरा, स्वीटर, सिरानीको खोललगायतका सामाग्री बनाउँदै आएकी मगरले तालिम लिइसकेपछि थप जान्ने मौका पाइन्। ‘तालिम लिन पाउँदा खुसी लाग्यो,’ उनी भन्छिन्, ‘तालिमले सिक्ने मौका त पाएँ नै, दिदी–बहिनीहरूसँग भेट हुने मौका पनि मिल्यो, जसले सिकाइमा थप सहज बनायो।’ आफूले जानेका सीपलाई आफ्नै टोल छिमेकमा पनि सिकाउने इच्छा रहेको उनको भनाइ छ।
अहिलेसम्म कुरूस नचलाएकी मधुकला क्षेत्रीले पनि यही तालिमबाट कुरूस चलाउन सिकिन्। उमेरले ६ दसकमा हिँडिरहेकी क्षेत्री घरबाट निस्कने फोहोरको व्यवस्थापन आफैँले गर्न सके स्थानीय सरकारलाई फोहोर व्यवस्थापन गर्नुपर्ने चुनौति नै नरहने बताउँछिन्। ‘हामीले आफ्नो घरबाट निस्कने फोहोरलाई व्यवस्थित गर्न सक्यौं भने त भरतपुर महानगरलाई दुःख हुने कुरै भएन,’ उनी भन्छिन्, ‘प्लास्टिकजन्य फोहोरलाई आफैँले व्यवस्थापन गर्न सके महानगरलाई बुझाउने सरसफाइ शुल्क त जोगियो नै, आम्दानीको स्रोत पनि बनाउन सकिने रहेछ।’
भरतपुर ९ गोन्द्राङका दयाराज शर्मा पनि नयाँ कुरा सिक्न पाउँदा निकै खुसी छन्। बाँसको चोया, निगालो आदिबाट डोको, नाम्लो, थुन्से, भकारीलगायतका वस्तु उत्पादन गर्दै आएका उनलाई यो तालिमले थप दक्ष बनाएको छ। ‘फुर्सदको समयमा भजन गाउन जाउँ कि कता डुल्न जाउँ जस्तो हुन्थ्यो, नयाँ सीप सिक्न पाएपछि समयसँगै प्लास्टिकजन्य फोहोरको व्यवस्थापन पनि भयो,’ उनी भन्छन्। उनको घरमा पसल छ, फोहोर संकलन गर्न भरतपुर महानगरबाट १५ दिनमा एकपटक गाडी आँउथ्यो। त्यतिञ्जेलसम्ममा २ बोरा फोहोर जम्मा भइसक्थ्यो। ‘तर, अब चाहिँ आफैँ सदुपयोग गर्छु भन्ने सोचमा छु,’ उनले थपे।

भरतपुर ९ मिलन टोलस्थित मिलन सचेतना महिला समूहकी अध्यक्ष लक्ष्मी सापकोटा भने फोहोर भनेर फालिने प्लास्टिकबाटै आम्दानी गर्न सकिने रहेछ भनेर जान्न पाउँदा अत्यन्तै खुसी छिन्। ‘वातावरण सरसफाइको लागि महिनाको दुई पटक बाटो र टोल सफा गर्ने कार्यमा सहभागी भए पनि प्लास्टिकबाट आफैँले विभिन्न खालका सामान बनाउन सकिन्छ भन्ने लागेको थिएन,’ उनी भन्छिन्, ‘कतैकतै सुनेको भए पनि आफैँले बनाउन सकिँदो रहेछ भन्ने कुरा यही तालिमले सिकायो।’ जुनसुकै काममा पनि सीप सिकेर स्वरोजगार बन्न सकिने रहेछ भन्ने कुरा पनि यही तालिमले सिकाएको उनले बताइन्।
सिलाइ–कटाइ गर्दै आएकी भरतपुर ५ शान्ति चोककी शर्मीला श्रेष्ठ भने आफूलाई चाहिने सामग्री आफैँ बनाउँछिन्। पुराना कपडालाई सदुपयोग गर्न जानेकी उनी यही तालिमबाट पुरानो प्लास्टिकलाई पनि राम्रैसँग सदुपयोग गर्दैछिन्। ‘प्लास्टिकबाट पनि हरेक चिज बन्दोरहेछ, यसलाई सदुपयोग गर्न सके सबै मिलेर खेर गएका प्लास्टिकलाई पनि राम्रोसँग सदुपयोग गर्न सकिन्छ भन्ने सन्देश फैलाउनुपर्छ,’ उनी भन्छिन्।
यसरी नै तालिममा सहभागी भएर सफलता पाएपछि अहिले अरूलाई सिकाउन पनि दक्ष भएकी छिन् भरतपुर–४, लंकूकी इन्दिरा सापकोटा। आफूले जानेको सीप सिकाउन पाउँदा खुसी लागेको उनी बताउँछिन्। सहभागीबाट पनि चासो र जिज्ञासा बढी पाएको उनी बताउँछिन्।
तालिममा सीप सिकाउन उनलाई तुलशा ज्ञवालीले साथ दिएकी छन्। खेर गएका प्लास्टिकको व्यवस्थापन गरेरै अर्थोपार्जन गर्न सकिने विषयमा ज्ञान बाँड्न पाउँदा ज्ञवाली पनि खुसी छिन्।
सीपको विकाससँगै फोहोरको व्यवस्थापनसम्बन्धी जागरण जगाउने उद्देश्यले तालिमको आयोजना गरिएको तालिमका संयोजक ई.सागर कार्कीको भनाई छ। फोहोरलाई मोहोरमा बदल्न सक्ने र वातावरण पनि सफा र सुरक्षित राख्न सकिने हुँदा यस्ता कृयाकलापमा सक्दो धेरैलाई सहभागी गराउँदै सबैलाई शिक्षित तथा सीपयुक्त बनाउने उनको योजना छ।


























