काठमाडौं, पुस ५ । नेकपा एमालेका सांसदको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।
आज बैठक सुरु हुनासाथ एमालेका सांसदहरु उठेर विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित गरेकाहुन्। अध्यक्ष तिमिल्सिनाले एमालेका सांसदलाई बैठक सञ्चालनको लागि सहयोग गर्न पटक-पटक आग्रह गरे पनि उनीहरुले उठेर विरोध गरेका थिए।
अध्यक्ष तिमिल्सिनाले आफ्ना विरोधहरु राखेरै पनि सभा सञ्चालन गर्न सकिने र लामो समयदेखि सदनमा अवरोध गर्दा कयौँ महत्त्वपूर्ण काममा बाधा पुगेको बताएका थिए। बैठकमा एमालेका सांसद देवेन्द्र दाहालले आफूहरुले उठाएका मुद्दा सम्बोधनको लागि सत्तापक्षले कुनै गम्भीरता नदेखाएको भन्दै आक्रोस पोखेका थिए।
दलले निष्कासन गरेका सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै एमालेले प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुवै बैठक अवरोध गर्दै आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले दुई पटकसम्म बोलाउनुभएको सर्वदलीय बैठकमा पनि एमाले अनुपस्थित भएको छ।


























