काठमाडौँ, मंसिर २८ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनाको पछिल्लो विवरणअनुसार अहिलेसम्म ३९७७ मतगणना सकिएको छ।
अहिलेसम्मको पछिल्लो विवरणअनुसार शेरबहादुर देउवाले १९०० र डा शेखर कोइरालाले १४६७ मत पाएका छन्। देउवालाई सभापति बन्न ४४० मत आवश्यक हुँदा ७०२ मत मात्रै गन्न बाँकी छ।
यस्तै प्रकाशमान सिंहले २९६, विमलेन्द्र निधिले २३० र कल्याण गुरूङले २० मत प्राप्त गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
अबको केहिबेरमा अन्तिम मतपरिणाम सार्वजनिक हुनेछ। पछिल्लो मतपरिणाम हेर्दा कसैले पनि पहिलो चरणमा बहुमत ल्याउने सम्भावना देखिएको छैन। पहिलो चरणमै विजयी हुन २ हजार ३४० मत पाउनुपर्छ।
यो परिणामअनुसार पहिलो चरणमा सभापति जित्ने सम्भावना कम हुँदै गएको छ। कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्य ४६७९ मत मात्रै खसेको थियो।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ। पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ। पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ।


























