मंसिर २८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ। सभापतिको मतगणना चलिरहँदा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् भने उनलाई डा.शेखर कोइरालाले पछ्याइरहेका छन्।
ताजामतपरिणामअनुसार हालसम्म २२०६ मत गन्दा देउवाले १०५१ मत पाएका छन् भने कोइरालाले ७९३ मत पाएका छन्। प्रकाशमान सिंहले २०४ विमलेन्द्र निधिले १७४ र कल्याण गुरुङले १० मत पाएका छन्।
गएराति साढे ११ बजे मतदान सकिएसँगै बिहान ४ बजेबाट सभापति पदको मतगणना गर्न थालिएको हो। नेतृत्व चयनका लागि कांग्रेसका कुल ४७४३ मतदाता रहेकोमा ४६७९ मत मात्रै खसेको थियो। ६४ जना प्रतिनिधिले भोट हालेनन्।
सभापतिको गणतना सकिएपछि मात्रै अन्य पदाधिकारी र सदस्यहरुको गणना सुरु हुनेछ। २४ गतेबाट सुरु भएको महाधिवेशन अन्तरगत सोमबार मध्यान्ह करिब १२ बजेबाट मात्रै मतदान सुरु भएको थियो।
एक सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र सदस्यसहित १ सय ३४ पदका लागि हिजो मतदान भएको थियो। एक सभापति पदमा ५ जना, दुई उपसभापतिका लागि ७ जना, दुई महामन्त्रीका लागि ६ र आठ सहमहामन्त्रीका लागि १९ नेताले उम्मेदवारी दिएका छन्। त्यस्तै, एक सय २१ सदस्यका लागि ४ सय ४९ जना चुनावी मैदानमा छन्।


























