काठमाडौं, मंसिर २७ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नयाँ कार्यसमिति चयन गर्न आज मतदान हुदै छ। शनिबार ५४८ जनाले उम्मेदवारी दर्ता गरेकामध्ये आइतबार ५७ जनाले आफ्नो मनोनयन फिर्ता लिएसँगै ४९१ जना चुनावी मैदानमा रहेका छन्।
१३ पदाधिकारीसहित १३४ कार्यसमिति सदस्यका लागि मनोनयन गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको हो।
प्रकाशित नामावलीअनुसार एक सभापतिका लागि पाँच जना, दुई जना उपसभापतिका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ।
सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीका प्रत्यासी (थारुतर्फ) सुरेन्द्रप्रसाद चौधरी र ५५ जना विभिन्न कलस्टरका सदस्यका प्रत्यासीले मनोनयन फिर्ता लिएका छन्।
आइतबार दिउँसो १ बजेसम्मका लागि मनोनयन फिर्ताका लागि दिएको समयमा एक सभापति, एक सहमहामन्त्रीसहित ५७ जनाले उम्मेदवारी फिर्ता लिएसँगै ४९१ जना चुनावी मैदानमा रहेका कांग्रेस निर्वाचन समितिले जनाएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी(जनजाति १५, खस(आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ। यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ।
चार हजार ७४३ प्रतिनिधिले मतदान गर्दै
कांग्रेसको १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन्।
काँग्रेसको नेतृत्व चयन गर्न मतदान भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा हुदैछ। मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ।
निर्वाचन समितिका अनुसार भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ निर्माण भइरहेको छ। ८१४ बुथबाट सोमबार ४७ सयभन्दा बढी प्रतिनिधिले कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सदस्य चयनका लागि मतदान गर्दैछन्।


























