चितवन, मंसिर २६ । गजल मन्च चितवनले आफ्नो स्वर्गीय अध्यक्ष द्वारिका नेपाललाई सम्झदै आफ्नो ‘गजलसँग’को सातौँ श्रृङखला सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष द्वारिका नेपालको केही महिनाअघि असमायिक निधन भएको थियो। त्यसपश्चात गजल मञ्च चितवनले पहिलोपटक गजलसँगको सातौँ शृङ्खला सम्पन्न गरेको हो। कार्यक्रम आयोजना गरेको हो।
स्वर्गीय नेपालको स्मृतिमा गजल मन्च चितवनले पुरस्कारसमेत घोषणा गरेको छ। स्वर्गीय नेपालको स्मृतिमा परिवारले पुरस्कार स्थापना गर्ने गरी अक्षयकोष स्थापना गरेको संस्थाका कार्यवाहक अध्यक्ष लेखराम सापकोटाले जानकारी दिए।
चितवन साहित्य परिषदको सभाहलमा शनिबार सम्पन्न उक्त श्रृङखलामा पाँच जना ख्यातिप्राप्त गजलकारहरु दिलु थापामगर, नवराज ढकाल, बिक्रम ढकाल ‘अनुराग’, सरस्वती पौडेल र अविरत सुमनले वेजोड गजल वाचन गरेका थिए। अत्यन्त मार्मिक तथा प्रेमिल भावमा वाचित गजलले सहभागीहरुलाई भावुक बनाएको गजल मन्च चितवनका सदस्यसमेत रहेका वासुदेव अधिकारीले बताए।
‘आश्रय’ र ‘आमा’लाई पुरस्कार

गजलकार अमला अधिकारीको गजलसंग्रह ‘आश्रय’ र चेतनाथ रुवालीको गजलसंग्रह ‘आमा’लाई ‘रमादेवी-हीरालाल स्मृति पुरस्कार’ संयुक्तरुपमा प्रदान गरिएको छ। गतवर्ष कोरोना भाइरस जोखिमका कारण पुरस्कार वितरण गर्न नपाएपछि यसपटक संयुक्तरुपमा वितरण गरिएको कार्यवाहक अध्यक्ष सापकोटाले जानकारी दिए। दस हजार १०१ रुपैयाँ राशिको पुरस्कार दुई जनालाई संयुक्तरुपमा वितरण गरिएको हो।
चितवन र आसपासका वरिष्ठ साहित्यकार, गजलकारहरुको वाक्लो उपस्थिति रहेको सो सभामा स्वर्गीय द्वारिका नेपालको योगदानको चर्चा गरिएको थियो। द्वारिका नेपालको गएको दसैंताका समयावधिकै समयमा मस्तिष्कघातका कारण निधन भएको थियो।


























