काठमाडौँ, मंसिर २५ । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठक आज सुरु हुँदैछ।
बैठक जर्मन हाउस गट्ठाघर भक्तपुरमा दिउँसो १ बजे सुरु हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले खबरहबलाई जानकारी दिए। केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशन स्थल सौराहामै बसेको थियो।
आजको बैठकमा मनोनीत हुने ३१ जना केन्द्रीय सदस्यहरूको शपथ ग्रहण हुने बताइएको छ। एमालेको विधान अनुसार पोलिटब्युरो ९९ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय हुने व्यवस्था छ।
बैठकमा महाधिवेशनको समीक्षा, पोलिटव्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन तथा प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन गर्ने विषयमा छलफल हुने बताइएको छ। विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयता क्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियानलाई पनि बैठकको कार्यसूची बनाइएको छ।
एमालेको महाधिवेशन सम्पन्न भएको भए पनि जिल्ला र प्रदेशको अधिवेशन भएको छैन। आजको बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण गर्ने बताइएको छ। बैठक भोलिसम्म चल्नेछ।


























