चितवन, मंसिर २३ । जङ्गल सफारीका लागि परिचित चितवनमा जल पर्यटनलाई पनि प्रवद्र्धन गर्न सुरु गरिएको छ। यहाँको ठिमुरा रिसोर्टले त्रिशूली र नारायणी नदीमा प्याकेज निर्माण गरी र्याफ्टिङ सुरु गरेको हो।
देशको तेस्रो पर्यटकीय गन्तव्य चितवनमा आउने अधिकांश पर्यटकको रोजाइँ चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा सफारी पर्ने गर्दछन्। धार्मिक पर्यटक मनकामना, मौलाकालिका, देवघाट क्षेत्रमा रमाउने गर्दछन्। नारायणी, राप्ती र त्रिशूली नदी यसै जिल्ला हुँदै बग्ने भए पनि जलसँग जोडेर पर्यटकीय गतिविधि कमै हुने गरेका थिए।
पछिल्लो समय नारायणी नदी किनारमा मोटरबोट सञ्चालनमा आएका छन्। भरतपुर महानगरपालिका–१ ठिमुरामा त्रिशूली नदीको किनारमा रहेको ठिमुरा रिसोर्टले र्याफ्टिङ सञ्चालनको अनुमति लिएको समूहसँग सहकार्य गरेर र्याफ्टिङ प्याकेज सुरु गरेको हो। एउटा र्याफ्टिङमा आठ जना अट्दछन्। रिसोर्टका सञ्चालक डा.प्रमोद लामिछानेका अनुसार रिसोर्टबाट देवघाटसम्म, रिसोर्टबाट नारायणगढसम्म, रिसोर्टबाट गाँजीपुरसम्म र घुमाउनेदेखि रिसोर्ट हुँदै गाँजीपुरसम्मका लागि प्याकेज बनाइएको छ।
र्याफ्टिङ कम्पनीले त्रिशूली र नारायणीको गाँजीपुरसम्म अनुमति लिएका पर्यटकको रोजाइँ अनुसार प्याकेज दिन सकिने उहाँको भनाइ छ। एक दिन वा दुई दिन पर्यटकको रोजाइँ अनुसारका प्याकेज समावेश गर्न सकिने छ। बस्न र खानका लागि रिसोर्टमा व्यवस्था हुने उनले जानकारी दिए। र्याफ्टिङका लागि त्रिशूली नदी परिचित छ। यस नदीको चरौँदीदेखि फिस्लिङसम्मको क्षेत्र झनै रूचाइएको स्थान हो।
त्रिशूली र कालीगण्डकी देवघाट मिसिएर नारायणी नदी बन्दछ। जल पर्यटनको हिसाबले आकर्षक र ¥याफ्टिङ पारखीको रोजाइँ रहेको यस क्षेत्रमा अब नियमित गतिविधि गर्न लागिएको लामिछानेले जानकारी दिए। यस क्षेत्रमा र्याफ्टिङ गराउँदै आएको एडभेन्चर रिभर ट्रेल्सका निर्देशक कमल ठकुरीले त्रिशूली नदी नेपालको नम्बर एक र्याफ्टिङ नदी भएको बताए। नारायणी र त्रिशूली धेरै पर्यटकको रोजाइँमा पर्ने गरेको उनको भनाइ छ।
भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा.विश्व सुवेदीले यहाँको जल पर्यटनको सम्भावना अति राम्रो रहेको मानिन्छ भन्दै नेपालको भोटेकोशीपछि त्रिशूली र नारायणीको जलाधार र्याफ्टिङका लागि उपयुक्त भएकाले यसको प्रवद्र्धन गर्नुपर्ने बताए।
पछिल्लो समय पर्यटकको रोजाइँ जल र जङ्गलपर्ने गरेको उनको भनाइ छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पर्यटनका विज्ञहरुले महानगर क्षेत्र हुँदै बग्ने त्रिशूली, नारायणी र राप्ती नदी पर्यटकीय हिसाबले प्रचुर सम्भावना रहेको जनाएसँगै महानगरले पर्यटन प्रवद्र्धनका लागि आवश्यक काम अघि बढाएको बताए।
पर्यटन विभागसँग सहकार्य गरेर नारायणी नदी किनारलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने काम भइरहेको भन्दै उनले नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको बताए। यस नदीमा जल पर्यटनको विकासका लागि र्याफ्टिङ महत्वपूर्ण हुने उनको भनाइ छ। रासस


























