काठमाडौं, मंसिर १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान चलिरहेको छ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १२ बजेदेखि मतदान सुरु भएको हो।
बिहान आठ बजेदेखि नै मतदान सुरु हुने कार्यतालिका भए पनि ढिलाइ भएको थियो। बेलुका ५ बजेसम्म मतदान हुनेछ। मतदानमा अध्यक्ष पदका लागि मतपत्र र पदाधिकारी एवं सदस्यका लागि विद्युतीय मेसिनको व्यवस्था छ।
८६ वटा मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाएको राप्रपाले जनाएको छ। अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा छन्।
झण्डै दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकतापछि पहिलो पटक महाधिवेशन भैरहेको हो। महाधिवेशनमा देशभरबाट चार हजार सात सय प्रतिनिधि सहभागी भएका छन्।


























